विवेक ओझाको ऐँठनले जित्यो मदन पुरस्कार, मुखियालाई जगदम्बा-श्री



टेकवीर मुखिया र विवेक ओझाको उपन्यास

काठमाडौं । गतवर्ष प्रकाशित पुस्तकमध्ये ऐँठन उपन्यास मदन पुरस्कारले पाउने भएको छ ।

आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठन उपन्यासका लागि विवेक ओझालाई मदन पुरस्कार दिने निर्णय भएको हो ।

२०७९ को जगदम्बा-श्री टेकवीर मुखियालाई तथा मदन पुरस्कार ऐँठन उपन्यासका लागि विवेक ओझालाई अर्पण गर्ने निर्णय भएको मदनपुरस्कार गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले जानकारी दिए । मदन पुरस्कार विजेताले चार लाख रुपैयाँ पाउने छन्।

मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो । मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा र सम्मान कार्यक्रम २०१४ सालमा सम्पन भयो । गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम ४००० हजार रहेकोमा २०७५ सालदेखि चार लाख भएको छ ।

२०१३ सालमा पहिलोपटक “हाम्रो लोक संस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का लागि चित्तरञ्जन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए ।

रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको एक लाखको सम्मान ‘जगदम्बा-श्री’ सोही सालबाट समर्पण गर्न सुरु भएको हो ।

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई सम्मान गरिने पुरस्कार हो भने ‘जगदम्बा-श्री’ नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने पुरस्कार हो ।


क्लिकमान्डु