कुशल मल्लकी आमा भन्छिन्: छक्का र चौकामात्रै हान्न खोज्छ, चाँडै आउट होला भन्ने डर लाग्छ
काठमाडौं । १९ औं एसियाली खेलकुदको टी-२० क्रिकेटमा मंगोलियाविरूद्ध कुशल मल्लले ३४ बलमै शतक हानेर छिटो शतक पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाए ।
उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गरी अविजित १३७ रन बनाए ।
कुशलले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपालले ३१४ रन बनाएको थियो । यो स्कोर पनि टि-२० इन्टरनेशनल इतिहासमा सर्वाधिक हो ।
चीनको हाङझाउमा कुशलले कीर्तिमान बनाएको खेल उनकी आमा शर्मिला मल्लले काठमाडौंमा बसेर हेरेकी थिइन् ।
नेपालको खेल चल्दै गर्दा शर्मिला खाना बनाउने तयारीमा थिइन् । छोरा मैदान प्रवेश गरेपछि डर लाग्न थाल्यो ।
मल्ल हिटर ब्याटर हुन् । बललाई बाउन्ड्री पार गराउनेमा उनको ध्यान हुन्छ । भारत विरूद्धको खेलमा उनी चाँडै आउट भएका थिए ।
मंगोलिया विरूद्धको खेलमा पनि उनकी आमालाई सोही डर थियो ।
‘खाली छक्का र चौका हान्न खोज्छ, चाँडै आउट हुने हो कि भन्ने डर लाग्छ,’ शर्मिलाले भनिन् ।
त्यो दिन साग केलाउँदै, डर मान्दै छोराको ब्याटिङ हेरेकी थिइन् । छोराले कीर्तिमान बनाएपछि उनमा खुसीको सीमा रहेन ।
खेलमा नेपाल २७३ रनको फराकिलो अन्तरले विजयी भएको थियो । देशले जितेको खेलमा छोरा कुशलले कीर्तिमानी शतक बनाउँदा अत्यन्त खुसी र गर्व लागेको शर्मिला बताउँछिन् ।
छोरा क्रिकेटर भएका कारण पनि शर्मिला नेपालले खेल्ने खेल हेर्न प्रायः छुटाउँदिनन् ।
अरू खेलाडीहरूले ब्याटिङ गर्दा निर्धक्क हेर्न सके पनि छोरा मैदान प्रवेश गरेपछि उनलाई छटपटी हुन्छ, चाँडै आउट होला भन्ने डरले ।
बुटवल उपमहानगरपालिका-११ देवीनगरका स्थायी निवासी कुशलको परिवार हाल काठमाडौं चन्द्रागिरि नगरपालिका मातातीर्थमा बस्छन् ।
कुशलका बुवा रोमन्त वैदेशिक रोजगारीमा छन् । परिवारसँगै देशको नाम राख्ने गरी खेलेकोमा बाबु रोमन्त औधी खुसी छन् ।
उनी खुसी हुनुको कारण पनि आफैं खेलाडी भएकाले पनि हो । कुशलका बुवा रोमन्त पनि तेक्वान्दोका ब्ल्याकबेल्ट प्राप्त खेलाडी हुन् ।
कुशलका क्रिकेट गुरु नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी तथा प्रशिक्षक शक्ति गौचन हुन् । जुन बेल कुशल होराइजन स्कुलमा अध्ययन गर्न आए त्यसबेलादेखि नै कुशलले गौचनको साथ पाए ।
कुशलको क्रिकेटको विकासमा गौचनको महत्त्वपूर्ण योगदान रहेको शर्मिला बताउँछिन् ।
‘गौचन सरले घरमै धेरै पटक आएर हामीलाई समेत बाबुको क्रिकेटमा राम्रो सम्भावना छ, अगाडि बढ्न सक्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अहिलेको अवस्थामा पुर्याउन गौचन सरले पनि धेरै गर्नुभएको छ ।’
कुशललाई करिब १२ वर्षको उमेरदेखि नै प्रशिक्षित गर्दै आएका प्रशिक्षक गौचनले सानै उमेरदेखि नै कुशलमा क्रिकेटप्रतिको लगाव र मेहनतले नै अहिले यो अवस्थामा आएको बताए ।
क्रिकेट सिक्दै जाँदा कुशलमा देखिएको ‘पावर हिटिङ’ र ‘लेफ्टहेन्डेड’कै कारण उनले खेललाई थप क्षमता प्रदर्शन गर्न सकेको गौचन बताउँछन् ।
‘क्रिकेट खेल हो कहिले उतारचढाव भइरहन्छ, उसको खेलप्रतिको लगाव र निरन्तरताको परिणाम अहिले देखिन थालेको मान्न सकिन्छ,’ उनले भने, ‘खेलमा थप मेहनत, लगानी गर्दै जाने हो भने अझै राम्रो परिणाम आउन सक्छ, उसको क्रिकेटको भविष्य राम्रो छ ।’