राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्ता
काठमाडौं । आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार भएको वार्तामा सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन् ।
वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए ।
सरकारले नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै करिब ४० हजारको संख्यामा रहेका राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।
शुक्रबार सरकार र अन्दोलनरत राहत शिक्षकबीच ५ बुँदामा सहमति भएको छ ।
शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ । राहत शिक्षक स्थायी भएका खण्डमा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ ।