जनताले पुराना दललाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४ वर्षपछि हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी काम गर्न पुराना दललाई अपिल गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत अपिल सार्वजनिक गर्दै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले नयाँ दल वा पुराना दलमध्ये एउटाको राजनीतिक सटर बन्द हुनै पर्ने बताएका छन् ।

उनले अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष सबै पुराना दललाई मिल्न र सहमति गरेर सरकार चलाउन आग्रह गर्दै आफूहरूले प्रतिपक्षी मोर्चा सम्हाल्न आग्रह गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्-

सम्पूर्ण पुराना दलहरुलाई अपिल

देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।

तर “मिशन ८४” भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन । तपाईको लागि त मिशन ८० नै छ त ! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला । अझ मिशन ८०,मिशन ८१,मिशन८२, मिशन ८३ छदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस् । ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई ।

राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर!! कि तपाईंको कि हाम्रो । ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।


क्लिकमान्डु