काठमाडौं महानगर र ई:बीच सहमति
काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत ई: बीच सहमति जुटेको छ ।
फुटपाथ व्यवसायीको पक्षमा महानगरविरुद्ध उभिएर आन्दोलन गरिरहेका ई: बीच बुधबार राति सहमति जुटेको हो ।
मंगलबार दुई पक्षबीच वार्ता भएर चार बुँदे सहमतिपत्र तयार भएको थियो । तर सहमतिको ४ नम्बर बुँदामा महानगर प्रमुख बालेन्द्र शाह(बालेन) ले संशोधन गरेपछि त्यसलाई आन्दोलनरत पक्षले अस्वीकार गरेको थियो ।
तर आज फेरि भएको वार्तामा चौथो बुँदालाई संशोधन गरेर सहमति जुटाइएको हो ।
महानगरका प्रमुख शाहका सञ्चार सहयोगी सुरेन्द्र बजगाईंले महानगर र आन्दोलनरत पक्षबीच सहमति भएको बताए ।
सहमतिपछि प्रदर्शनरत ई:ले पत्रकार सम्मेलन गर्दै आन्दोलन स्थगन घोषणाको तयारी गरेका छन् ।
उनी अहिले ९ बजेसम्म गरेर १९९ घन्टा उभिएका छन् ।
मंगलबार महानगर र ई: पक्षबीच चार बुँदे सहमति जुटेको थियो र ४ नम्बरको बुँदामा मेयर शाहले संशोधन गरेपछि वार्ता भाँडिएको थियो । आज उक्त बुँदामा थप संशोधन गर्दै सहमति जुटेको हो ।
यस्तो थियो ४ बुँदे सहमति
फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न ८ दिनदेखि राष्ट्रिय सभागृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहनु भएका अभियन्ता ई र सहभागी साथीहरुको स्वास्थलाभको कामना गर्दै निम्न निर्णय गरि सो प्रदर्शन आजैबाट स्थगित गर्ने दुई पक्षबीच सहमति भएको थियो ।
दोस्रो, फूटपाथ सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने ।
तेस्रो, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न देहायबमोजिमको समिति गठन गर्ने सहमति जुटेको थियो।
जसमा महानगरपालिकाले तोकेको ३ जना, ई. को तर्फबाट तोकिएको प्रतिनिधि २ जना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना, सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना, ट्राफिक प्रहरीको प्रतिनिधि १ जना रहने सहमति भएको थियो।
तर छलफलका क्रममा सहमति भएको चार नम्बरको बुँदामा पछि बालेनले संशोधन गरेपछि वार्ता भाँडिएको थियो ।
उक्त बुँदामा साविकमा फूटपाथ / सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्नेछ । कोटेश्वर चोकबाट जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चावहिल मालपोत पछाडि, वालाजु क्षेत्र, भृकुटिमण्डप र सम्भावित अन्य क्षेत्र समेतमा दशैं-तिहार र छठ सम्मको लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा आजको मितिले एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरुलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने व्यवस्था थियो । तर मेयर बालेनले उक्त बुँदामा संशोधन गर्दै ‘ साविकमा फूटपाथ / सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि आजको मितिले एक हप्ताभित्र उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले पहल गर्नेछ’ राखेका थिए ।
आज भने दुई पक्षबीच कानुनले निषेध गरका स्थान बाहेकका अन्य स्थान पहिचान गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने गरि सहमति जुटेको छ ।
‘साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ’ संशोधित सहमतिमा भनिएको छ ।