मलेसियाली कम्पनीले नेपालमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने



काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापनाको लागि आवश्यक अध्ययन हुने भएको छ ।

मल कारखाना स्थापनाका लागि आवश्यक पर्ने विस्तृत सम्भाव्यता अध्ययनको लागि लगानी बोर्ड र मलेसियाको रिनिकोला एसडीएन बीएचडी कम्पनीबीच समझदारी भएको छ ।

समझदारी पत्रमा लगानी बोर्डका तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोला कम्पनीका प्रवन्ध निर्देशक भौमहिदि अब्देलालीले हस्ताक्षर गरेका छन् ।

बोर्डका सहसचिब अमृत लम्सालका अनुसार सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली २०७७ अनुसार रिनिकोला कम्पनीले उर्जाको रुपमा विद्युत शक्तिको प्रयोग गरि वातावरण मैत्री प्रविधिमा आधारित मल उत्पादन गर्न २०७९ पुष २४ गते प्रस्ताब गरेको थियो ।

सोहि प्रस्तावको आधारमा अध्ययन अनुमतिपत्र प्रदान गर्ने बोर्डले निर्णय गरेको थियो । प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा गत भदौं ३० मा बोर्डको ५५ औं बैठकले स्वीकृत गरेको थियो ।

समझदारीपत्रको प्रावधानअनुसार प्रस्तावक रिनिकोलाले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्रमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई उपलब्ध गराइ सक्नुपर्ने समय सीमा तोकिएको छ ।

यो परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरि ग्रिन एमोनिया र ग्रिन क्यालसियम एमोनियम नाइट्रेट(क्यान) मल तयार गर्ने योजना बनाएको छ । करिब २६० मिलियन अमेरिकी डलर अनुमानित लागत खर्च परियोजनाको छ ।

प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार ६०० टन ग्रिन एमोनिया र २ लाख ८६ हजार ९ सय ७५ टन टन ग्रिन क्यालसियम नाइटे«ट मल उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

हस्ताक्षर कार्यक्रममा बोर्डका अध्यक्ष भट्टले नेपालमा हरित अवधारणामा आधारित मल उत्पादन गर्ने उद्देश्यले सुरु हुन लागेको यो परियोजनाले नेपालको विद्युतलगायतका आन्तरिक स्रोतको परिचालन गरि हरित अर्थतन्त्रको विकासमा सहयोग गर्ने बताए।


क्लिकमान्डु