‘स्पार्क एड्भेन्चर’अन्तर्गत शैलुङको पर्यटन प्रवर्द्धन गर्न कलाकारसहित २ सय सहभागी हुने



काठमाडौं । दोलखा र रामेछापको सीमानामा पर्ने शैलुङमा स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा २०० जनाले सहभागिता जनाउने भएका छन् ।

कार्यक्रममा लोकप्रिय कलाकार प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी, ब्यवसायी र सर्वसाधारणको सहभागीता रहने छ ।

प्रचुर पर्यटकीय संभावना रहेर पनि चल्तीको गन्तव्य नभएकोले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

कार्यक्रम संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्री लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, गायक यश कुमार, लेखक बुद्धिशागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, मोडल रीना थापा मगर, ट्राभलर सिर्जना सिज्जु समेतको सहभागिता रहने छ ।

विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रम अनुसार असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरू हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको भनाइ छ ।

कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले सहभागिता जनाउन सक्ने छन् ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।


क्लिकमान्डु