विश्व पर्यटन दिवसको दिनबाट टिकटमा भ्याट, हवाई भाडासमेत बढ्यो



काठमाडौं । विश्व पर्यटन दिवसको दिन पारेर नेपालबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले टिकेटमा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट) लिन सुरु गरेका छन् ।

नेपालबाट हुने सबै प्रकारको अन्तर्राष्ट्रिय उडानमा बुधबार (२७ सेप्टेम्बर)बाट भ्याट लिने गरी सम्बन्धित वायुसेवाले सर्कुलर जारी गरेका छन् ।

हवाई भाडामा भ्याट लिन अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)ले दिएको कोड प्रयोग गरेर आजैबाट भ्याट लिन सुरु भएको एरोलिन ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्काले जानकारी दिए ।

खड्काका अनुसार मंगलबारदेखि नै भ्याट लिने विषयमा तयारी भए पनि आयटाको कोड आइनपुगेका कारण बुधबारबाट भ्याटसहितको टिकेट जारी हुन थालेको हो ।

अन्तर्राष्ट्रिय वायुसेवाले हवाई टिकेटमा भ्याट लिन टी ६ नामको कोडसमेत जारी गरेका छन् । अब टिकेट काट्न हरेक एयरलाइन्सले उक्त कोडका रूपमा भ्याट थप गरेरै टिकेट जारी गर्न थालेका छन् ।

आयाटाले सबै वायुसेवालाई जारी गरेको सूचनाअनुसार बुधबारबाट भ्याट लागेको र सोही अनुसार अब नेपालबाट बाहिरिने हरेक टिकटमा बेसिक भाडादरलाई आधार बनाएर भ्याट लिन थालिएको हो ।

टिकटमा भ्याट लागेपनि नेपाल पर्यटन बोर्डले नेपालबाट बाहिरिदा प्रति पर्यटक १ हजार रुपैयाँ लिँदै आएको हवाई पर्यटन सेवा शुल्कमा पनि भ्याट थप गर्नुपर्ने भएको छ ।

बोर्डले नेपालबाट बाहिरिने हरेक विदेशीबाट १ हजार रुपैयाँ पर्यटन सेवा शुल्क लिने गरेको छ । यही शुल्क बोर्डको आम्दानी हो । यसैबाट बोर्डले प्रशासनिक खर्च तथा अन्तर्राष्ट्रिय प्रवर्धन गर्ने गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट हवाइ टिकटमा भ्याट लाग्ने व्यवस्था गरेको भएपनि वायुसेवा कम्पनीले कार्यान्वयन गर्न नचाहेका कारण ढिलो भएको हो ।

टिकटमा भ्याट तिर्नु नपर्ने तर्क गर्दै ट्राभल व्यवसायी अदालत गएका थिए । अदालतले भ्याट तिर्नुपर्ने बाटो खुला गरेपछि भने बजेटले गरेको व्यवस्था भन्दा ४ महिना ढिलो गरेर अन्तर्राष्ट्रिय वायुसेवा भ्याट तिर्न तयार भएका हुन् ।

हवाई टिकटमा भ्याट लागेसँगै अब नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको भाडा पनि महँगो भएको छ । टिकटमा जोडिएको भ्याट यात्रुबाटै लिने भएकोले आजैबाट जारी भएको टिकट १३ प्रतिशत महँगो भएको सम्बन्धित ट्राभल व्यवसायीले बताएका छन् ।


क्लिकमान्डु