बालेनले सहमतिको एउटा बुँदा संशोधन गरेपछि ई: पक्षसँगको वार्ता निष्कर्षविहीन



काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत ई: को टोलीबीच वार्ता निष्कर्षविहीन भएको छ । मंगलबार करिब ५ घण्टा चलेको वार्ता सहमति नजिक पुगेर भाँडिएको हो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह(बालेन) र आन्दोलनरत ई: उपस्थित नभइ दुई पक्षका प्रतिनिधि बसेको बैठकमा ४ बुँदामा सहमति भएको भए पनि मेयर शाहले एउटा बुँदामा पछि संशोधन गरेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको आरोप ई: पक्षले लगाएको छ ।

एक सतायता महानगरको कार्यालयअघि उभिएर प्रदर्शन गरिरहेका ई:सँगको वार्ताका लागि महानगरले वार्ता टोली बनाएको थियो ।

महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी थिए।

त्यस्तै आन्दोलनरत ईःको पक्षबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा वार्तामा बसेका थिए ।

यस्तो थियो ४ बुँदे सहमति

फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न ८ दिनदेखि राष्ट्रिय सभागृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहनु भएका अभियन्ता ई र सहभागी साथीहरुको स्वास्थलाभको कामना गर्दै निम्न निर्णय गरि सो प्रदर्शन आजैबाट स्थगित गर्ने दुई पक्षबीच सहमति भएको थियो ।

दोस्रो, फूटपाथ सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने ।

तेस्रो, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न देहायबमोजिमको समिति गठन गर्ने सहमति जुटेको थियो ।

जसमा महानगरपालिकाले तोकेको ३ जना, ई. को तर्फबाट तोकिएको प्रतिनिधि २ जना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना, सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना, ट्राफिक प्रहरीको प्रतिनिधि १ जना रहने सहमति भएको थियो ।

तर छलफलका क्रममा सहमति भएको चार नम्बरको बुँदामा पछि बालेनले संशोधन गरेकोले वार्ता निष्कर्षमा पुग्न नसकेको ई: पक्षको आरोप छ ।

उक्त बुँदामा साविकमा फूटपाथ / सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्नेछ । कोटेश्वर चोकबाट जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चावहिल मालपोत पछाडि, वालाजु क्षेत्र, भृकुटिमण्डप र सम्भावित अन्य क्षेत्र समेतमा दशैं-तिहार र छठ सम्मको लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा आजको मितिले एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरुलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने व्यवस्था थियो । तर मेयर बालेनले उक्त बुँदामा संशोधन गर्दै ‘ साविकमा फूटपाथ / सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि आजको मितिले एक हप्ताभित्र उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले पहल गर्नेछ’ राखेपछि सहमति भाँडिएको हो ।

स्थानमा सहमति भएको वडाका अध्यक्षहरुले बिरोध जनाएपछि व्यवसाय गर्न दिने ठाउँको सट्टा स्थान पहिचान गर्न महानगरले पहल गर्ने बुँदा राखिएको महानगर स्रोतको दाबी छ ।


क्लिकमान्डु