आर्थिक संकुचनले मोबाइल फोन १० वर्षयताकै कम आयात, दसैंमा पनि छैन उत्साह



काठमाडौं । आर्थिक संकुचनले मोबाइल फोन हालसम्मकै कम आयात भएको छ । भन्सार विभागको पछिल्लो १० वर्षको तथ्यांकअनुसार चालु आर्थिक वर्षको २ महिनाको अवधिमा हालसम्मकै कम मोबाइल फोन सेट आयात भएको देखाउँछ ।

कोरोनामा अनलाइन माध्यममार्फत अधिकांश कार्य हुँदा उच्च कारोबार गरेका व्यवसायी अहिले व्यापार नहुँदा तनावमा छन् । कोरोनाको समयमा मोबाइल फोन व्यापार आयातमा नयाँ रेकर्ड कायम भएको थियो । तर, कोरोनाको असर र रुस-युक्रेनबीचको द्वन्द्वले विश्वभर आर्थिक संकुचन हुँदा अर्थतन्त्रमा उच्च प्रभाव परेको छ ।

नेपालीहरुको महान् चाडपर्व नजिकिँदै गर्दा पनि बजारमा चहलपहल छैन । दसैंको माहोलमा उच्च कारोबार हुने क्षेत्र मोबाइल फोन पनि हो । हरेक वर्ष दसैंलक्षित मोबाइल फोनको उच्च व्यापार हुँदै आएकोमा यो वर्ष भने सुनसान रहेको व्यवसायीहरुको भनाइ छ ।

बजारमा माग नभएपछि आयात प्रत्यक्ष प्रभावित भएको छ । भन्सार विभागको पछिल्लो १० वर्षको तथ्यांक हेर्दा यो वर्षको जस्तो कम माग कहिले नभएको देखिन्छ ।

भन्सार  विभागमा आर्थिक वर्ष २०७१/७२ भन्दाअघिको तथ्यांक मासिक रुपमा उपलब्ध थिएन । आव २०७२/७३ मा साउन र भदौमा नेपालले २ अर्ब १२ करोड ४५ लाख रुपैयाँको ६ लाख ७७ हजार ७४२ वटा मोबाइल सेट आयात गरेको थियो ।

त्यस्तै, आव २०७३/७४ मा ४ अर्ब २७ करोड ६८ लाख रुपैयाँको १२ लाख ४८ हजार, आव २०७४/७५ मा ५ अर्ब ४८ करोड ४७ लाख रुपैयाँको १३ लाख २५ हजार २८३ र आव २०७५/७६ को दुई महिनामा ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँको ८ लाख ८७ हजार २०६ सेट मोबाइल फोन आयात भएको थियो ।

विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा ५ अर्ब ११ करोड ३१ लाख रुपैयाँको ११ लाख १२ हजार ५९१, आव २०७७/७८ मा ७ अर्ब ९९ करोड ४३ लाख रुपैयाँको १० लाख ५ हजार ८४५, आव २०७८/७९ मा १० अर्ब ३७ करोड १९ लाख रुपैयाँको १५ लाख ३ हजार ५३४ र आव २०७९/८० को साउन र भदौमा ६ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको ८ लाख ९९ हजार ६८० मोबाइल सेट आयात भएको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा भने ५ लाख २२ हजार २८६ सेट मात्रै  सेट आयात भएको छ । गत वर्ष सरकारले मोबाइल आयातमा प्रतिबन्ध गरेको अवस्थाको तुलनाभन्दा पनि अहिले कम आयात भएको पाइएको छ ।

नेपालले चालु आर्थिक वर्षको दुई महिनामा आयात गरेको मोबाइल फोनबाट १ अर्ब २ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले दसैं नजिकिँदै गर्दा बजारमा कुनै रौनक नछाएको बताए ।

उनका अनुसार दसैंलक्षित विभिन्न ब्रान्डका मोबाइलमा अफर सार्वजनिक गर्ने प्रवृत्ति रहेकोमा यो वर्ष मोबाइल फोनको माग नहुँदा बजारमा सुनसान छ । ‘दसैंको समयमा एक वर्षमा हुने व्यापारको ४० प्रतिशत हिस्सा कारोबार हुन्थ्यो तर यो वर्ष १५ प्रतिशत पनि व्यापार हुनसक्ने अवस्था छैन,’ उनले क्लिकमान्डुसँग भने ।

एकातिर महँगो भाडा तिरेर व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ व्यापार नहुँदा व्यवसायी निराश भएका छन् । यो अवस्था कायमै रहे दसैंपछि अधिकांश व्यवसायी पलायन हुने अवस्थामा पुग्ने उनको भनाइ छ । ‘हरेक वर्ष दसैंलाई लक्षित गरेर मोबाइल फोन आयात हुने गरे पनि यो वर्षको माहोल त्यस्तो हुने छाँटकाँट छैन,’ अध्यक्ष भट्टराईले भने, ‘अबका दिनमा व्यवसायी के गर्ने भन्ने विषयले बढी चिन्तित भएका छन् ।’

आर्थिक संकुचनकै कारण महँगो खालको मोबाइल फोन बिक्री हुनै छोडेको उनले बताए । अहिले मध्यम र प्रिमियम ब्रान्डको मोबाइल फोनको व्यापारमा ठूलो गिरावट आएको उनले जानकारी दिए ।

भट्टराईका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाले कर्जामा सहजीकरण नगरेको अवस्थाले पनि व्यवसायीलाई थप समस्या परेको छ । सरकारले पनि व्यापार गर्नेहरुको हितमा कार्यक्रम ल्याउन नसक्दा अर्थतन्त्रमा समस्यामा देखिएको उनको बुझाइ छ ।


अरिष्मा मोक्तान