निजी क्षेत्रले उठाएका मागबारे राष्ट्र बैंकसँग छलफल गर्छौं: ओली



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले निजी क्षेत्रले उठाएका मागका विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने बताएका छन् ।

मंगलबार नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा ओलीले बैंक निर्मम साहूजी बन्ने तिर लाग्न नहुने बताए।

बैंकको ब्याजदर तर्कसहित हुनुपर्ने ओलीको भनाइ थियो । कर्जा लिनेले ५ वर्षमा ब्याज तिर्न नसक्ने अवस्था भएको बताउँदै ओलीले उत्पादन नै सुरु नभई ब्याज तिर्न नसक्ने विषय सरकारले बुझ्नुपर्ने बताए ।

उद्योग व्यवसायीले बजेट सार्वजनिक हुँदा स्वागत गरेको देखेर आफू आश्चर्यचकित भएको स्मरण गरे ।

बजेट राम्रो नहुँदा पनि निजी क्षेत्रले नबुझि प्रतिक्रिया दिएको ओलीको भनाइ छ ।

ओलीले अर्थतन्त्र समस्यामा परेकाले साधारण उपचारले नहुने बताए । ‘अहिले अर्थतन्त्रको रोग सिटामोल खाएर निको हुँदैन,’ ओलीले भने, ‘रोग जरादेखि लागेको छ, पात हाँगामा मात्रै ओखति गरेर हुँदैन ।”

एमाले मिसन २०८४ मा लागेको र त्यो बेलासम्म उद्योग व्यवसाय सेयर बजार र पर्यटन क्षेत्र रहने हो कि नरहने हो भन्नेमा अन्योल रहेको बताए । देश सबल हुन उत्पादन बढाउनु पर्नेमा सरकारले केही काम गर्न नचाहेको उनको तर्क छ ।

सरकारमा रहेका दललाई अर्थतन्त्रको भन्दा पनि सत्ता टिकाउने चिन्ता रहेको ओलीको भनाइ छ । सरकार नयाँ नयाँ खालको क्याल्कुलेटर बोकेर हिडेको उनले बताए । कार्यक्रममा ओलीले अर्थतन्त्रमा चौतर्फी समस्या हुदा पनि सरकारले अर्थतन्त्र सुधार हुदैछ भनेर ढाँटीरहेको रहेको बताए ।

अहिले करिब ५० प्रतिशत उद्योग बन्द हुने अवस्था पुगेको भए पनि सरकार त्यसमा गम्भीर नभएको उनले बताए ।

अहिले पनि तस्करी गर्नेहरु मुस्कुराई राखेको भन्दै उनले त्यस्तमाथि लगानी गर्नेको खोजी गर्नुपर्ने बताए । २०७३ सालदेखि नागरिकता दिएर नै तस्करीको लागि तयारी गरिरहेको उनको आरोप छ ।


क्लिकमान्डु