चीनको नान्जिन नगरका उपप्रमुख इन्द्रजात्राका लागि काठमाडौंमा
काठमाडौं । इन्द्रजात्रा अवलोकनका लागि चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । सोमबार बेलुका ताइजुनसहितको टोली काठमाडौँ आइपुगेको हो ।
टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिन स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तरराष्ट्रिय मामिलाका उप महानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई रहेका छन् ।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गरेका थिए ।
काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको अवसरमा विभिन्न १६ अन्तराष्ट्रिय नगर र ९ वटा अन्तराष्ट्रिय संघ संस्थालाई निमन्त्रणा गरेको छ । जसमध्ये २० जना विदेशी पाहुनाहरु आउने निश्चित भएको महानगरले सोमबार एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको थियो ।