सडक व्यापार व्यवस्थापनका लागि महानगरलाई दबाब दिन मिल्दैनः सुनिता डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रह गरिन् ।

यो समस्या देशभरकै सबै शहरहरुमा भएकाले संघीय सरकारले दिगो समाधान दिनेगरी आवश्यक एकीकृत नीति बनाउन ढिलाई गर्न नहुने उनको भनाइ थियो ।

‘स्ट्रिट भेन्डर्सका समस्याहरु आउँदाखेरी यो काठमाडौं महानगरपालिकाको मात्रै समस्या भने पक्कै होइन । देशभरीमा, जहाँजहाँ सहर छ, त्यहाँ हेर्नु भयो भने स्ट्रिट भेन्डर्सको समस्या यहाँले देख्नु हुन्छ । सबै जनाले त्यो भोगी रहेका पनि छौं । यस अर्थ पनि यो भनेको चाहीँ महानगरपालिकाको मात्रै भूमिका कदापि होइन । यो केन्द्रिय सरकारले विशेष महत्वका साथ हेर्नुपर्ने विषय पनि हो’ उनले भनिन् ।

उपमेयर डंगोलले सो समस्या समाधानका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिने काम नगर्न अनुरोध गरिन् ।सडकमा गरिने व्यपारको व्यवस्थापनका लागि महानगरले अध्ययन गरिरहेको उनले बताइन् ।

‘स्ट्रिट भेन्डर्स व्यवस्थापनको कुरा नै हो । त्यही कुरा गर्दा पनि घोषणा पत्रमा पनि हामीले व्यवस्थापनका कुरा अगाडि सारेका थियौं । र, अहिले पनि त्यसबिरुद्ध हामी लागेका छैनौं,’ उनले भनिन्, ‘काठमाडौं महानगरपालिका भित्र आफ्नै तवरबाट महानगरपालिकाले अहिले अध्ययन पनि गराइरहेका छौं । र, एउटा मात्रै विषय छैन, थुप्रै विषयहरु छन् । ती विषयहरुलाई कसरी व्यवस्थित बनाउने भन्ने कुरा आन्तरिक हिसावमा अध्ययन भइरहेको छ ।’

काठमाडौं महानगरपालिकालाई कसैको दबाब भन्दा पनि सुझाव आवश्यक रहेको पनि उनको भनाइ थियो । काठमाडौं महानगरपालिका आफ्ना नीति र कार्यक्रम अनुसार अघि बढिरहेको उनको भनाइ छ ।


क्लिकमान्डु