बाँझो जग्गामा डोजर चलाउँदै चितवन महानगर, ठूला प्लट बनाएर फूल र तरकारीखेती गर्ने तयारी



चितवन । चितवनको क्षेत्रपुरमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ । भरतपुर महानगरपालिका-२ मा बाँझो रहेको जमिनको तथ्यांक लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो । वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो ।

वडाध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्र रहेका १८ वटा टोलसँग बाँझो जमिनको तथ्यांक मागिएको थियो । तीमध्ये १० वटा टोलको जमिनको तथ्यांक आइसकेको छ । तथ्यांक प्राप्त भएको मिल्स एरिया र रामेश्वर टोल विकास संस्थाभित्रको बाँझो जमिनमा आजदेखि डोजर लगाएर झाडी फाँडेर खेती गर्न मिल्ने बनाउन थालिएको छ ।

उनका अनुसार ती जमिनमा समूहगत रुपमा खेती गर्न चाहनेहरुका लागि सूचना जारी गरिँदैछ । आमा समूह, टोल सुधार संस्थाजस्ता संस्थालाई जग्गाधनीले कुनै कामका लागि फिर्ता मागेको समयमा दिने गरी संस्थालाई सम्झौता गरेर जग्गा दिन लागिएको हो ।

वडाभित्र रहेका ठूला प्लटमा फूल र तरकारीखेतीका लागि संस्थागत रुपमा जग्गा माग्ने क्रमसमेत सुरु भएको छ । क्रमशः वडाभरि नै झाडी फाँडेर खाली जमिन संघसंस्थालाई खेतीका लागि दिइनेछ । यसरी खेती गर्नेले जग्गाधनीलाई कुनै भाडा तिर्नु पर्दैन । रानाभाटले भने, ‘हामी वडालाई नमुना बनाउने गरी काम अघि बढाउँदैछौँ ।’

जनघनत्व राम्रो भएको यस वडामा घरबाहेकका क्षेत्रमा जग्गा बाँझो छाडेर झाडीमा परिणत भएको छ । बाँझो जमिनको झाडी फाडेर खेती लगाएमा यसले सरसफाइ र सुन्दरता पनि दिने उनले बताए ।


क्लिकमान्डु