वार्ताका लागि बालेनले पठाएका थिए नगर प्रहरी, यसकारण जान मानेनन् ईः



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आन्दोलनरत अभियन्तासँग वार्ता गर्न खोज्दा राजनीतिक स्वार्थका कारण नआएको आरोप लगाएपछि आन्दोलनरत ईः ले त्यसमा असन्तुष्टी जनाएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमार्फत आन्दोलनरत समूहसँग आफूले वार्ता गर्न खोज्दा राजनीतिक स्वार्थका कारण नआएको उल्लेख गरेका थिए । सामाजिक सञ्जालमार्फत उनले आफूहरुले अभियन्ताको कुरा र समस्या सुन्न तयार भए पनि उनीहरु भने वार्ताका लागि नआएको बताएका छन् ।

काठमाडौं महानगरपाकिालले फुटपाथ खाली गराउनका लागि फुटपाथ व्यापारी हटाएर गरिखाने वर्गमाथि विभेद गरेको भन्दै केही युवाहरु आन्दोलनमा छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको भवन अगाडि ईः लगायतका केही युवा अभियन्ताहरुले उभिएर बिरोध प्रदर्शन गरिरहेका छन् ।

‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौं’,बालेनले लेखेका छन्, ‘सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौं । के बार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने हो ?’

बालेनले राजनीतिक स्वार्थका कारण नआएको भन्दै आरोप लगाएको विषयमा ईःले सामाजिक सञ्जालमार्फत मेयर आफूहरुलाई भेटन नआएको खुलाएका हुन् । आफूहरुले जवाफदेहिताको माग गरिरहेको र मेयर नआएको कुरा पनि आन्दोलनमा रहेका अरुले पनि साक्षी भएर देखेको उनले बताए ।

ईः काअनुसार सोमबार दिउँसो एक नगर प्रहरी आएर उनीहरुलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङमा बोलाएका थिए । आन्दोलनरत अभियन्ताहरुले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधिलाई समेत बोलाएर आधा घण्टामा आउने बताउँदा नगर प्रहरीले रिसाउँदै ‘मेयरले भेट्दैनन्’ भनेर गएको ईःले उल्लेख गरेका छन् ।


क्लिकमान्डु