सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री



काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै उनले अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारे । तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुर्‍याउन प्रहरीलाई कडा निर्देशन दिएको उनको भनाइ छ । सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगर अगाडी बढ्ने उनले बताए ।

गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भिरतापूर्वक लिएको बताए । सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दु युवाहरुमाथि सांघातिक हमला भएको थियो । त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिहेको उल्लेख गर्दै उनले आवश्यक परेमा एक, दुई दिनमै नयाँ निर्णय लिइने बताए ।

गृहमन्त्री श्रेष्ठले आफूलाई अकास्मात रुपमा समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभए पनि सांसदहरुले मन्त्रीलाई बोलाउन माग गरेपछि समिति सभापतिले उनलाई बोलाएका थिए ।

समिति बैठकमा मन्त्रीलाई लोकतान्त्रिक मूल्य, मान्यता र प्रणाली अनुरुप बोलाउनुपर्ने उनको भनाइ छ ।
मन्त्री भएकै कारण जतिखेरै आइहाल्नु भनेर बैठकमा बोलाउन नमिल्ने उनको भनाइ थियो ।


क्लिकमान्डु