१८ अर्ब ७१ करोड रुपैयाँ ट्रेजरी बिल नवीकरण हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ ।
राष्ट्र बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट २८ दिनको ८ अर्ब रुपैयाँ ९१ दिनको १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनको ६० करोड रुपैयाँको अवधि समाप्त भएको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
बोलकबोल प्रक्रियामा ट्रेजरी बिल खरिद गर्न कुनै पनि संस्थाले प्रस्ताव पेश नगरेमा सरकारले ट्रेजरी बिल खरिदकर्तालाई ब्याजसहित रकम फिर्ता गर्नु पर्ने छ ।
सरकारले लक्ष्यभन्दा निकै कम राजस्व उठाइरहेकाले अवधि समाप्त भएको ट्रेजरी बिल भुक्तानी नगरी नवीकरण गर्न चाहेको छ ।
राष्ट्र बैंकमा पेस भएका सबै प्रस्तावहरु सोमबार मात्रै खुला हुने छन् । बैंक वित्तीय संस्थासँग लगानी योग्य पुँजी पर्याप्त नहुँदा ट्रेजरी बिलको ब्याजदर घटिरहेको छैन ।
गत असोज १ गते ९१ दिनको ट्रेजरी बिलको औषत ब्याजदर ५.४६ प्रतिशत कायम भएको थियो ।
यस्तै, १८२ दिनको बिलको ब्याजदर ६.०४३२ प्रतिशत र ३६४ दिनको ट्रेजरी बिलको ब्याजदर ६.२२ प्रतिशत कायम भएको थियो।