बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैनः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपी भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए ।

उनले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने बताए । बैंकहरुले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुने अधिकारीले बताए ।

‘नेपालको कर्जा प्रवाह जिडिपी भन्दा धेरै छ । अहिले नेपालको कर्जा प्रवाहमा बैंकले लोन नदिएको कारणले अर्थतन्त्र चलायमान भएन । बजार चलायमान भएर ऋण चाहिने हो की ऋण दिएर बजार चलायमान हुने हो ?’ उनले भने ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कहरु चुनौति दिने प्रचलन रहेको उनको भनाइ छ । नेपालको अर्थतन्त्रका धेरै प्यारामिटरहरुमा चुनौति रहेको बताउँदै उनले नेपालको अर्थतन्त्रमा धेरै मनी सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु रहेको बताए ।

गभर्नर अधिकारीले पछिल्लो समय विश्वका केन्द्रीय बैंकहरुले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणको लागि नीतिगत रुपमा कडाइका साथ उभिएको बताए ।

मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्वपूर्ण भूमिका हुने गरेको बताउँदै गभर्नर अधिकारीले केन्द्रीय बैंकले लिने नीतिको प्रभाव मूल्य वृद्धिमा पर्ने बताए ।

‘विश्वका केन्द्रीय बैंकहरुले अर्थतन्त्रका विषयमा पोजिसन लिइरहेको देखिन्छ । स्वयत्तताको कुरा गरिरहेको पाउँछौं । त्यो केको लागि भन्दा म्यान्डेट पूरा गर्नको लागि हो । मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको सीमा कति भन्ने कुरा आफ्नो ठाउँमा छ । मागबाट सिर्जना हुने मूल्यको सन्दर्भमा धेरै सीमाहरु हुँदा हुँदै पनि केन्द्रीय बैंकको भूमिका महत्वपूर्ण रहन्छ,’ अधिकारीले भने, ‘ नेपालको अर्थतन्त्रमा धेरै प्यारामिटरहरु चुनौति दिन्छन् । सिद्धान्तलाई चुनौति दिने प्राक्टिस छ । जुन वर्ष धेरै मनि सप्लाई हुन्छ । त्यो वर्ष थोरै मूल्यवृद्धि भएको पनि हाम्रोमा उदाहरणहरु छन् ।’

गभर्नर अधिकारीले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तर रुपमा आत्मनिभर अर्थतन्त्र बनाउने नीति बनाउन लाग्न आवश्यक रहेको बताए


क्लिकमान्डु