टिम्सको रकम दुरुपयोग गरेर पर्यटन बोर्डका सीईओको आन्तरिक भ्रमण, प्रोजेक्ट मिलाउँदै तीन गुणा बढी भत्ता लिँदै



काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को आन्तरिक भ्रमणमा पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)को रकम दुरुपयोग भइरहेको पाइएको छ ।

बोर्डको सीईओको हरेक आन्तरिक भ्रमणमा टिम्सको रकमबाट सञ्चालन हुने सस्टेनेबल टुरिजम फर लाइभ्लिउड रिकभरी प्रोजेक्ट (एसटीएलआरपी)बाट मिलाउँदै तीन गुणा बढी भत्ता लिने गरेको पाइएको हो ।

पर्यटन बोर्डको आर्थिक तथा खरिद विनियमावलीअनुसार सीईओलाई आन्तरिक भ्रमणमा जाँदा दैनिक ५ हजार रुपैयाँ भत्ता दिने व्यवस्था छ । तर, एसटीएलआरपीबाट जाँदा दैनिक १५ हजार रुपैयाँ पाइने भएकाले हरेक भ्रमण नै सोही प्रोजेक्टबाट हुने गरेको तथ्य भेटिएको छ ।

बोर्डबाट जाँदा पाइने भत्ताको तीन गुणा एसटीएलआरपीबाट जाँदा पाइने भएकाले काठमाडौंबाट बाहिर जाँदा हुने हरेक आन्तरिक भ्रमणमा बोर्डका सीईओले दैनिक १५ हजार रुपैयाँ बुझ्ने गरेका छन् । चार वर्षमा १३८ दिन स्वदेश भ्रमण गर्दा हरेक भ्रमण उनले टिम्सको रकम प्रयोग हुने प्रोजेक्टबाट गरेका छन् ।

नेपालमा आएका विदेशी पर्यटक पदयात्रामा जान अनिवार्य रूपमा टिम्स कार्ड लिनुपर्छ । सो कार्डवापत संकलन भएको रकमबाट बोर्डले एसटीएलआरपी प्रोजेक्ट चलाएको छ । यही प्रोजेक्टको काम भन्दै सीईओ डा‍. धनञ्जय रेग्मी काठमाडौंबाट बाहिरिँदा हरेक आन्तरिक भ्रमणमा भत्ता लिने गरेको पर्यटन बोर्ड उच्च स्रोतले क्लिकमान्डुलाई जानकारी दिएको छ ।

कोराना महामारीपछि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहकार्यमा टिम्सको रकम प्रयोग गर्ने गरी एसटीएलआरपी पर्यटन बोर्डले सुरु गरेको हो । उक्त प्रोजेक्ट पर्यटन मजदुरका लागि रिकभरी कार्यक्रम गर्न सुरु गरिएको हो ।

यो प्रोजेक्टमा नेपाल पर्यटन बोर्डले ४५ प्रतिशत र यूएनडीपीले ५५ प्रतिशत खर्च गर्ने गरेको छ । पाँच वर्षका लागि आएको यो प्रोजेक्टको अवधि आगामी वर्षको जुनसम्मलाई छ ।

बोर्डका सीईओ रेग्मीले नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धन गर्न चालू आर्थिक वर्षको बजेटमार्फत पीआर एजेन्ट राख्ने प्रस्ताव गरेका गरेका छन् । बोर्डका कर्मचारीले बर्सेनि विदेश घुम्नेभन्दा पेड पीआर एजेन्टको काम प्रभावकारी हुने भन्दै उनले यो प्रस्ताव अगाडि सारेपछि बोर्डका कर्मचारी असन्तुष्ट भएका छन् ।

टिम्सको रकम दुरुपयोग गरेर बोर्डले दिनेभन्दा तीन गुणा भत्ता लिएर काठमाडौं बाहिर गइरहने सीईओले कर्मचारीलाई रिजाउन सकेका छैनन् । कर्मचारीलाई विदेश घुम्न रोक्न गरी पीआर एजेन्ट राख्न खोजिएपछि असन्तुष्ट बोर्डकै कर्मचारीले सीईओले घुमघामका नाममा गरिरको उक्त खर्चको विषयमा प्रश्न उठाएका हुन् । रेग्मीले बोर्डका कर्मचारीबाट हुने प्रभावकारी प्रवर्धन रोक्ने गरी ल्याउन लागेको पीआर एजेन्टप्रति बोर्डकै कर्मचारीले चरम असन्तुष्टि व्यक्त गरेका छन् ।

सीईओ रेग्मीले कोरोना महामारीपछि वर्षमा ८२ दिनसम्म घुमघाम गरेर बिताएको जानकारी बोर्डले नै दिएको छ । पर्यटन बोर्डका अनुसार सीईओ रेग्मी २०७८ मा ८२ दिन घुमघाममा निस्किएका छन् । उक्त वर्ष रेग्मीले २३ दिन विदेश र ५९ दिन स्वदेश घुमेर भत्ता बुझेको बोर्डको रेकर्डमा उल्लेख छ ।

त्यस्तै २०७९ मा पनि उनले ३९ दिन विदेश र ३४ दिन स्वदेश घुमेको पाइएको छ । यसअघि कारोना महामारी भएकाले २०७७ मा ७ दिन मात्रै विदेश भ्रमणमा गएका छन । उक्त वर्ष ४३ दिन स्वदेश घुमेका छन् । सीईओ रेग्मी नियुक्त भएसँगै कोरोना महमारी सुरु भएकाले उक्त वर्ष २०७६ मा भने २ दिन मात्रै स्वदेश घुमेको तथ्यांकले देखाएको छ ।

पर्यटन बोर्डका सीईओको कामै पर्यटन प्रवर्धन गर्ने, स्वदेश तथा विदेश पुगेर पर्यटन प्रवर्धन गर्ने तथा विदेशबाट नेपाल भ्रमणमा पर्यटक बोलाउने हो । तर, सीईओ रेग्मीको स्वेदश भ्रमणमा भने कताबाट बढी भत्ता आउँछ भन्दै सेटिङ मिलाउने काम गरेर टिम्सबाट संकलन हुने स्रोतको दुरुपयोग मात्रै भएको दाबी बोर्डकै कर्मचारीको छ ।

सीईओले एसटीएलआरपीका नाममा गरेको अस्वाभाविक खर्चका विषयमा पर्यटन बोर्ड सञ्चालक समितिमा समेत प्रश्न उठेको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालका अनुसार सीईओले एसटीएलआरपीको पैसा खर्चिएको विषयमा बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेका पर्यटन मन्त्रालयका सचिवले समेत चासो देखाएर खर्च विवरण माग गरेका छन् ।

बोर्डको बजेट अहिलेसम्म पारित नभएकोले अब बजेटको पाटोभित्रै राखेर एसटीएलआरपीमा गरेको खर्चको समीक्षा हुने जानकारी पनि रिजालले दिए । यो प्रोजेक्टमा बोर्डकै सीईओ रेग्मी संयोजक छन् भने बोर्डका निर्देशक मणि लामिछाने सहसंयोजक छन् ।

बोर्डका सीईओलाई विश्वासका आधारमा दिइएको प्रोजेक्टको दुरुपयोग भइरहेको विषयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पनि प्रश्न उठाएको उपाध्यक्ष रिजालले बताए ।

बोर्ड बैठकले उक्त प्रोजेक्टको बारेमा अहिलेसम्म भएको प्रगतिको विवरण माग गरेकाले त्यसको विवरण बुझाइसकेको सीईओ रेग्मीले बताए । उनका अनुसार बोर्डले नै यसलाई उत्कृष्ट प्रोजेक्ट भनेर घोषणा गरिसकेको छ तर केही व्यक्ति भने यसको काम नबुझेर विरोध मात्रै गरेर बसिरहेको बताउँछन् ।

सीईओ रेग्मीले बोर्डका समग्र कर्मचारीको भन्दा एसटीएलआरपीमा काम गर्ने २ जना कर्मचारीको प्रभावकारिता बढी भएको दाबी पनि गरे । ‘अरु कर्मचारीको भन्दा बढी योगदान भएको प्रोजेक्ट भएकाले पनि बोर्डका कर्मचारीले यसलाई मन नपराएको हुनसक्छ,’ उनले भने ।

रेग्मीले आफू जुन कार्यक्रममा गएको छ, त्यसैबाट खर्च गर्ने गरेको पनि बताए । बोर्डको कार्यक्रममा जाँदा बोर्डबाट र एसटीएलआरपीको कार्यक्रममा जाँदा सोही प्रोजेक्टबाट खर्च गर्ने गरेको उनको भनाइ छ । ‘एउटा कार्यक्रममा जाँदा अर्कोबाट खर्च लिन मिल्दैन र लिएको पनि छैन, कसैले बदनाम मात्रै गर्न खोजेको हुनसक्छ,’ सीईओ रेग्मीले भने ।


राजु बास्कोटा