बालसुधार गृहमा भएको मृत्युको सत्यतथ्य अनुसन्धान गर्न आग्रह
काठमाडौं । विगत केही समयदेखि देशका तीनवटा बालसुधार गृहहरूमा भएको बालकहरूको मृत्यु तथा सुधार गृह तोडफोडको घटनाप्रति एड्भोकेसी फोरम–नेपाल चिन्ता व्यक्त गरेको छ ।
भक्तपुर, पर्सा र बाँकेका बालसुधार गृहहरूमा भएको दुःखद घटनाले देशभरिका सुधार गृहहरूको अवस्था सामान्य नरहेको र त्यसलाई समाधानका लागि तत्काल कदम चाल्न जरूरी रहेको फोरमले जनाएको छ ।
भक्तपुर बालसुधार गृहमा भदौ ३ गते १८ वर्षीय बालकको समयमै उपचार नपाउँदा मृत्यु भएपछि बालकहरू तोडफोडमा उत्रिएको र परिस्थिति नियन्त्रणभन्दा बाहिर गएको थियो । त्यसपश्चात् १४ जना बालकलाई वीरगञ्ज, १४ जनालाई हेटौंडा, १३ जनालाई भैरहवा र ६ जनालाई डोटीको बाल सुधारगृहमा सारिएको थियो ।
भदौ २६ गते वीरगञ्ज बालसुधार गृहमा ढुंगामुढा र तोडफोडको घटना भएको थियो । घटनामा संलग्न १५ बालकलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सा हिरासतको महिला सेलमा राखिएको छ । त्यस्तै, हिजो रातिदेखि दुई पक्षबीच भएको झडपमा एक बालकको मृत्यु र ११ जना बालकहरू घाइते भएको जानकारी प्राप्त भएको छ ।
एड्भोकेसी फोरम–नेपालले विगत लामो समयदेखि बालसुधार गृहहरूको अवलोकन भ्रमण गर्दा क्षमताभन्दा बढी बालबालिका राखिएको र दैनिक रूपमा दिइने खाजा, खाना र पानी गुणस्तरीय एवं पोषणयुक्त नरहेको, शिक्षा तथा स्वास्थ्य उपचार र सीपमूलक तालिमको अभाव रहेको औंल्याएको थियो ।
१८ वर्षभन्दा बढी उमेर पुगेकालाई समेत नाबालकहरूसँगै राखिँदा पनि समस्या उब्जेको हो भन्ने निष्कर्ष आफूहरुको रहेको फोरमले जनाएको छ ।
बालसुधार गृहहरूमा देखिएका समस्यालाई तत्काल सम्बोधनका लागि सुधार गृहहरूमा भएका घटनाहरूको यथाशीघ्र सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न, बाल न्याय सम्बन्धी कानून तथा संयन्त्रहरूको प्रभावकारी र व्यावहारिक रूपमा कार्यान्वयन गर्न, उचित भौतिक पूर्वाधार निर्माण गर्न, पर्याप्त पोषणयुक्त खाजा तथा खानाको प्रबन्ध गर्न, शिक्षा तथा सीप विकास तालिमको व्यवस्था गर्न, उमेर वर्गीकरण गरी बालबालिकालाई छुट्टाछुट्टै सुधारगृहमा राख्न, बालसुधार गृहहरूमा भएका समस्याहरूको पहिचान गरी यथाशीघ्र निराकरण गर्ने उपाय अवलम्बन गर्न एड्भोकेसी फोरमले सम्बद्ध निकायलाई आग्रह गरेको छ ।