निर्जीबन बीमा कम्पनीका १ लाख बीमितले पाएनन् दाबी भुक्तानी



काठमाडौं । बीमा कम्पनीको काम बीमा गराउने मात्रै होइन, सहज ढंगले दाबी भुक्तानी पनि हो । जोखिम हस्तान्तरणको उद्देश्यले बीमा गरेपछि बिमितले सदैव समयमै दाबी भुक्तानी होस् भन्ने चाहेको हुन्छ ।

तर, बिडम्बना नै भनौं, नेपालमा बीमा गरेपछि दाबी भुक्तानी पाउन भने सहज छैन । बीमा कम्पनीले सहजै दाबी भुक्तानी नदिने गरेकै कारण नेपालमा ‘बीमा गर्न सजिलो, दाबी भुक्तानी लिन निकै गाह्रो’ भन्ने भनाइ व्याप्त छ ।

त्यसलाई सरकारले नै अघि बढेर गराएको कोरोना बीमाले पनि करिब प्रमाणित गरेको छ । सरकारले नै प्राथमिकताका साथ गरेको कोरोना बीमाका ठूलो संख्याका बिमितले अझै दाबी भुक्तानी पाएका छैनन् ।

निर्जीबन बीमा कम्पनीले पनि बिमितलाई गर्ने दाबी भुक्तानी करोडौं रकममा भुक्तानी गरेका छैनन् । कतिपय अवस्थामा बीमा कम्पनीले जानाजान दाबी भुक्तानी नगर्ने, कतिपय समयमा कागजी प्रक्रिया देखाएर समय लगाउने, कागजात सबै पुगे पनि ३५ दिनभित्रमा दाबी भुक्तानी गर्न सकिने भन्दै अन्तिम समयसम्म रोक्ने प्रवृत्ति छ ।

त्यसले गर्दा बीमाप्रति मानिसको धारणा थप नकारात्मक बन्न बल पुगेको छ । बीमा कम्पनीहरुको रबैयाकै कारण बीमा गर्न चाहनेको संख्या पनि उल्लेख्य बढ्न सकेको छैन ।

बीमा कम्पनीहरुले प्रकाशित गरेको तथ्यांकअनुसार असार मसान्तसम्म १ लाखभन्दा बढी बिमितको २१ अर्ब ११ लाख ९ हजार ६४ रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

दाबी भुक्तानी हुन बाँकी केही कोरोना बीमाका बिमक पनि छन् । असार मसान्तसम्म १३ निर्जीबन बीमा कम्पनीले १ लाख १ हजार ४७६ जनाको दाबी भुक्तानी गर्न बाँकी छ ।

सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १४ हजार ८१ जना बिमितको ४ अर्ब ४४ करोड ७५ लाख ६८ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । राष्ट्रिय बीमा कम्पनीबाहेक १३ वटा कम्पनीमध्ये ८ वटा कम्पनीको दाबी भुक्तानी अर्बभन्दा बढी छ ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १२ हजार ८७९ जनाको २ अर्ब ६६ करोड ३० लाख ६३ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ११ हजार ८२० जनाको २ अर्ब १५ करोड ७६ लाख १९ हजार रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस्तै शिखर इन्स्योरेन्सले १२ हजार २८ जना बिमितलाई १ अर्ब ८८ करोड २६ लाख २० हजार ३३४ रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ हजार ५३१ जना बिमितको १ अर्ब ८९ करोड ७४ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको छैन ।

यस्तै युनाइटेड अजोड इन्स्योरेन्सले १४ हजार २३३ जना बिमितको १ अर्ब ७५ करोड ७५ लाख ९ हजार, सानिमा जीआईसी इन्स्योरेन्सले ५ हजार ३८९ बिमितको १ अर्ब २७ करोड ७६ लाख २० हजार ४११ रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ हजार ५३१ बिमितको १ अर्ब ८९ करोड ७४ लाख ११ हजार र नेको इन्स्योरेन्सले १० हजार ६१ जनाको १ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

यस्तै नेपाल इन्स्योरेन्सले ३ हजार ८६९ जना बिमितको ८५ करोड ९२ लाख २ हजार, एनएलजी इन्स्योरेन्सले ३ हजार ९९२ जना बिमितको ८७ करोड ४८ लाख ५५ हजार र प्रभु इन्स्योरेन्सले २ हजार १५२ जनाको ६९ करोड १० लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

यसैगरी नेसनल इन्स्योरेन्सले १ हजार ४४९ जनाको ५३ करोड २६ लाख ९४ हजार तथा ओरियन्टल इन्स्योरेन्सले ९९२ जनाको ५२ करोड ७ लाख ८९ हजार ३१९ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

बीमा कम्पनीले १ लाख १ हजार ४७६ जनाको २१ अर्ब ११ लाख ९ हजार ६४ रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी भए पनि कतिपय भुक्तानी प्रक्रियामा रहेको नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री बताउँछन् । उनका अनुसार अहिले पनि सगरमाथा लुम्बिनीमा मात्रै दैनिक ५० वटा जति दाबी भुक्तानीका फाइल आउने गरेका छन्, त्यसको करिब ७५ प्रतिशत सेटलमेन्ट हुने गरेको छ ।

‘बीमा कम्पनीले सेटलमेन्टलाई प्राथमिकतामा राखेका हुन्छन्,’ उनले भने, ‘तर सर्भेयरबाट समयमा कागजात नआउँदा केही ढिलाइ हुने गरेको छ ।’

कागजात आएको ३५ दिनभित्र दाबी भुक्तानी गर्ने गरेको र दाबी भुक्तानी धेरै भएका कारण संख्या र रकम धेरै देखिएको हुनसक्ने उनले तर्क गरे । उनले बिमितलाई समयमै आफ्नो फाइल ल्याउनसमेत आग्रह गरेका छन् । समयमा नै फाइल आउने हो भने दाबी भुक्तानीका लागि समय नलाग्ने उनको दाबी छ ।

बिमितले दाबी गर्नुपरेमा सम्पूर्ण विवरण खुलाएर बिमकसमक्ष निवेदन दिनुपर्छ । निवेदन पाएपछि बिमकले आवश्यक जाँचबुझ गर्न सर्भेयर पठाउने गर्छन् ।

सर्भेयरले आवश्यक जाँचबुझ गरेर बढीमा १५ दिनभित्र विस्तृत प्रतिवेदन बिमकसमक्ष पेस गर्छन् । त्यो बिमितलाई बिमकले जारी पनि गराउँछन् । सर्भेयरले बिमकसमक्ष प्रतिवेदन पेस गरेको बढीमा ३५ दिनभित्र बिमकले पाउनुपर्ने दाबी भुक्तानी पाउनुपर्छ ।


क्लिकमान्डु