टायल कारखाना बनाउँदै पशुपति सेरामिक्स, ८८ करोड ऋण लिँदै



काठमाडौं । पशुपति सेरामिक्स प्रालिले वार्षिक ८१ हजार मेट्रिक टन टायल उत्पादन गर्ने कारखाना बनाउने भएको छ । कम्पनीले बारा जिल्लाको जितपुर सिमरा–४ मा उत्पादन कारखाना बनाइरहेको हो ।

तुलसी शाहको मुख्य लगानी (५० प्रतिशत) रहेको यो कम्पनीमा अशोककुमार चंगनलाल भिवानी (३० प्रतिशत), याग्नेश नागजीभाई चोभाटिया (१० प्रतिशत) र सराङ्गभाई दिनेशभाई चोभाटिया (१० प्रतिशत)को लगानी रहेको छ । कम्पनीका यी लगानीकर्ताहरुसँग झण्डै दुई दशकसम्म भारतमा सेरामिक्स टायल उद्योगकै क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

पशुपति सेरामिक्स नेपालका सुरुवाती टायल उद्योगहरुमध्येको हो । हाल नेपालमा टायलहरु विदेशबाट आयात गरेर ल्याइने गरिएको छ । पछिल्ला दिनहरुमा ४० प्रतिशत भन्सार कर लगाइएसँगै नेपालमै टायल उत्पादन गरिएमा त्यसले फाइदा पुर्याउने देखिएको छ । जसको प्रत्यक्ष सकारात्मक प्रभाव पशुपति सेरामिक्सलाई पनि पर्ने कम्पनीले जनाएको छ ।

पशुपति सेरामिक्सले २०२३ को अन्त्यसम्ममा आफ्नो परियोजनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ । हालसम्म कम्पनीले परियोजनाको लागतको २५ प्रतिशत खर्च गरेको जनाएको छ । मुख्य गरि कारखाना निर्माणमा यो रकम खर्च भएको कम्पनीको भनाइ छ । टायल उत्पादनका लागि मेसिनरी खरिद गर्ने काम पनि कम्पनीले सँगसँगै गरिरहेको छ । परियोजनामा कुल लगानीमध्ये ७१ प्रतिशत कर्जाबाट हुने पशुपति सेरामिक्सले जनाएको छ ।

कम्पनीले ८ करोडको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी ईक्रा नेपालले पशुपति सेरामिक्सलाई ५ करोड रुपैयाँको कोषमा आधारित दीर्घकालीन कर्जा सुविधाका लागि बि प्लस र ३० करोड रुपैयाँको कोषमा आधारित नरहेको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु