पूर्वमन्त्री विद्याधर मल्लिकको नेतृत्वमा कर प्रणाली सुधार उच्चस्तरीय समिति गठन



काठमाडौं । सरकारले कर प्रणाली सुधारका लागि गर्नु पर्ने कामका विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वअर्थ सचिवसमेत रहेका पूर्वमन्त्री विद्याधर मल्लीकको नेतृत्वका उच्च स्तरिय समिति गठन गरेको हो।

समितिमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम प्रसाद ज्ञवाली, अर्थ मन्त्रालय र अन्तगर्तका कार्यालयमा लामो समय काम गरेका पूर्व सचिव लक्ष्मण अर्याल, भन्सार विज्ञको रुपमा एशियाली विकास बैंक र विश्व बैंकमा काम गरेका पूर्व उपसचिव श्याम दाहाल सदस्य छन् ।

समितिको सचिवमा अर्थ मन्त्रालयले सहसचिवलाई तोक्ने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

उच्चस्तरीय समितिको सचिवालयको रुपमा अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले सहयोग गर्नेछ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा विद्यमान कर प्रणाली सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने घोषणा गरेको थियो।

उक्त समितिलाई नेपालको समग्र कर प्रणाली सुधारका लागि सरकारले गर्नु पर्ने काम कारबाहीको विषयमा सुझाव दिने जिम्मेवारी दिइएको छ।

समितिका संयोजक रहेका मल्लीक नेपालको कर प्रणालीको विषयमा जानकार विज्ञ मानिन्छन् ।

२०५८ सालमा आयकर ऐन बनाउने क्रममा विभागको महानिर्देशकको रुपमा मल्लीकको नेतृत्वदायी भुमिका खेलेका थिए ।

मल्लीकलाई नेपालको कर प्रणालीको विषयको विषयमा जानकार र स्वच्छ छबीका प्रशासकको रुपमा लिइने गर्छ । २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारमा मल्लीक स्वास्थ्य तथा जनसख्यां मन्त्री थिए ।

समितिको सदस्य रहेका अर्याल समेत कर प्रणाली जानकार मानिन्छन् ।


क्लिकमान्डु