डेडिकेटेड र ट्रंक लाइन विवाद, प्राधिकरणले बक्यौता तिर्न १ महिना समय थप्यो



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोगबाट बिद्युत उपभोग गरेका उद्योगीलाई बक्यौता महशुल भुक्तानी गर्न समय १ महिना थपेको छ।

अब उद्योगीहरुले असोज ३० गतेसम्म महशुल भुक्तानी गर्न सक्ने भएका छन् । प्राधिकरणले करिब २५ अर्ब रुपैयाँ बक्यौता रहेको दाबी गर्दै आएको छ ।

बक्यौता महशुल भुक्तानी गर्न तोकिएको समयसीमा अपर्याप्त भएको गुनासो उद्योगीबाट आएपछि १ महिना थप गरिएको प्राधिकरणले आज एक सूचना निष्काशन गर्दै जनाएको छ ।

भदौ १७ गते प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट लिएको बिजुली महसुल भुक्तानी नगरे उद्योगमा बिजुली आपूर्ति बन्द गर्ने धम्कीपूर्ण सूचना प्रकाशित गरेको थियो।

प्राधिकरणले भुक्तानी गर्न दबाब दिएको भन्दै उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर गुनासो गरेका थिए।

प्रधानमन्त्री दाहालले ट्रंक लाइन महशुल छुट र मिनाहाको विषय नटुंगिएसम्म उद्योगहरूको विद्युत आपूर्ति बन्द नगर्न प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेर निर्देशन दिएका थिए।

उद्योगीहरुले प्राधिकरणले टिओडी मिटर देखाएर आफूहरुले बिजुली प्रयोग गरेको प्रमाण दिए बिल तिर्न तयार भएको बताउँदै आएका छन् ।

तर, कुनै ठोस प्रमाणबिना प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले उद्योगीहरुलाई बिल पठाएपछि यो विषय विवादित बनेको हो।


क्लिकमान्डु