असोजमा बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने
काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने भएका छन् । भदौमा केही बैंकले मुद्दति निक्षेपमा अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याज दिएका थिए ।
बैंकरुले आइतबारसम्ममा असोज महिनामा लागू हुने ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ । केही बैंकले बढाउने तयारी गरिरहेका छन् भने केही बैंकले घटाउने र केहीले स्थिर राख्ने तयारी गरिरहेका छन् ।
बढाउँदा अधिकतम कति बढाउन सक्छन् ? भनेर हामीले राष्ट्र बैंकले ब्याजदर निर्धारसम्बन्धी जारी गरेको परिपत्रका आधारमा यो समाचार तयार पारिएको हो ।
नेपाल बैंकर्स संघले बैंकहरुलाई असोजको मुद्दतिको ब्याजदरमा ‘कट अफ रेट’ ११.०५ दिएको छ भने बचतमा ६.०५ प्रतिशत दिएको छ ।
संघका अनुसार भदौमा वाणिज्य बैंकहरुको मुद्दतिमा औषत ब्याजदर १०.३२६ प्रतिशत र बचतमा ५.५० प्रतिशत ब्याजदर कायम भएको छ । राष्ट्र बैंकको परिपत्रअनुसार अघिल्लो महिनाको औषत ब्याजदरमा अधिकतम १० प्रतिशत तलमाथि गरेर नयाँ ब्याजदर निर्धारण गर्न पाउने ब्यवस्था छ । यसो गर्दा बचत र मुद्दतिबीचको ब्याजदर ५ प्रतिशतभन्दा माथि हुनु हुँदैन ।
जसअनुसार बैंकहरुले बचतमा अहिलेको औषतमा १० प्रतिशत बढाउँदा ६.०५ प्रतिशत हुन आउँछ । र, त्यसमा अधिकतम ५ प्रतिशत जोडेर ११.०५ प्रतिशत मुद्दतिमा दिन पाउँछन् ।