जो अर्बपति छ, उसँग मात्रै बैंकको ऋण पुग्छ, गरिबले पाएनन्: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने ऋण नदिएको ओलीको भनाइ थियो । साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको उनको भनाइ छ ।

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको कार्यक्रमा अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरुसँग सरकारले सहकार्य गरेर अघि बढनुपर्ने उनको भनाइ छ ।

‘बैंकहरुले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उस कहाँ बैंकको ऋण पुग्दैपुग्दैन । जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ । ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नु पर्छ । त्यसकारण ठूलाका लागि पनि आवश्यक छ,’ओलीले भने ‘तर त्यहाँ मात्रै होइन । गरिबका, जहाँ सिड मनि छैन । जहाँ व्यवसाय शुरु गर्नका लागि केही छैन । हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ । त्यस्तो ठाउँमा माईक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन।’

ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्याम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारले काम गर्नुपर्ने बताए ।


क्लिकमान्डु