सुन तस्करी प्रकरण: असल नियतले काम गर्दा दु:ख दिएको भन्दै विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, ३ घण्टा पेन डाउन



काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कमर्चारीहरु आन्दोलनमा उत्रिएका छन् । आफूहरुको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्याउने गरी विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द नभएसम्म यस्तै परिस्थितिमा कार्यालयको दैनिक कार्यसञ्चालन गर्न आफूहरु असमर्थ रहेको बताएका जनाएका छन् ।

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका छन् ।

कर्मचारीले भोलि र पर्सी कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

भन्सार ऐन, २०६४ को दफा ६६ बमोजिम ‘कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्य पालनको शिलशिलामा असल नियतले गरेको कामकारबाही प्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुनेछैन’ भन्ने स्पष्ट व्यवस्था रहेको भए पनि देशको राजस्व असूलीको लागि अहोरात्र खटिई कानुनबमोजिम असल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी कर्मचारीहरुको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्याउने गरी विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द हुनुपर्ने उनीहरुको माग छ ।

भदौ १२ गते सामूहिक सरुवाको भन्सार विभाग समक्ष निवेदन दिएको भए पनि सुनुवाइ नभएको र वातावरण थप बिग्रिदै गएको भन्दै कर्मचारीहरुले बिरोधका कार्यक्रमहरु घोषणा गरेको जनाएका छन् ।

कार्यलयमा राजस्व असूलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलित कानुनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द हुनुपर्ने, कार्यस्थलमा नियमित उपस्थित भई निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने, अनुसन्धान गर्ने निकायले केहि कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा रहेको अवस्थामा के-कति कारणले गिरफ्तार गरेको हो ? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिई अमानवीय तरिकाले गिरफ्तार गरेको हुँदा यस्ता कार्य अविलम्ब बन्द हुनुपर्ने र बिना प्रमाण थुनामा राखिएको सबैलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ ।

अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी, दोषी प्रमाणित नहुँदै संविधान प्रदत्त गोपनियताको हक वर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अविलम्ब बन्द गरिनुपर्ने उनीहरुको माग छ ।

‘विभिन्न संचार माध्यमहरुबाट खुलासा भएका योजनाकार तथा सो सँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका व्यक्तिलाई संरक्षण गर्ने र राष्ट्रसेवक कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने’त्रिवि भन्सार कार्यालयका कर्मचारीको माग तथा बिरोध कार्यक्रममा उल्लेख गरिएको छ ।

२७ गतेभित्र आफूहरुको मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी उनीहरुको छ ।

गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भएको थियो भने इलेक्ट्रोनिक सिगरेट(भेप)मा सुन लुकाएर ल्याएको प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । तर कमर्चारीहरुले भने असल नियतका साथ काम गरिरहँदा दु:ख दिने काम भइरहेको आरोप लगाएका छन् ।


क्लिकमान्डु