सोह्रौँ योजनामा जिल्ला तहदेखिका सुझाव सङ्कलन गरिने



काठमाडौं । सोह्रौँ योजनामा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी विशेष व्यवस्थाका लागि जिल्ला तहदेखि सुझाव सङ्कलन गरिने भएको छ ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज लैङ्गिक समानता र सामाजिक न्यायका विषयमा अन्तरपार्टी महिला सञ्जालसँग छलफल गरी प्रदेश र जिल्ला तहबाट पनि सुझाव सङ्कलन गर्न लागिएको जानकारी गराएको हो । यस विषयमा निरन्तररूपमा समितिले छलफल अघि बढाएको समिति सभापति प्रकाश पन्थले जानकारी दिए ।

समितिले यसअघि राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगसँग छलफल गरेको थियो । आजको छलफलमा महिला सञ्जालका अध्यक्ष पुष्पा ठाकुर, पूर्वअध्यक्षद्वय कल्याणी रिजाल र मिलन वर्मालगायत सहभागी भएका थिए ।

उनीहरूले सञ्जालको प्रदेश र जिल्ला तहलाई पनि परिचालन गरी १६औँ योजनाका लागि सुझाव सङ्कलन गरिनेमा जोड दिए । सञ्जालले लिएका सुझाव समितिमार्फत सुझावका रूपमा राष्ट्रिय योजना आयोगमा पठाइने सभापति पन्थले बैठकमा जानकारी गराए ।

बैठकमा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी उपसमितिका संयोजक कमला पन्तले अहिले महिलाको विभिन्न क्षेत्रमा सहभागिताका बारेमा प्रस्तुति गरे ।


क्लिकमान्डु