दुधकुण्डमा नेपाल लाइफको निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सोलुखुम्बुको दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सोलुखुम्बुको ४,६३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा जाने तीर्थयात्रीलाई लक्षित गरी कम्पनीले नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भदौ ११ देखि १४ सम्म निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

शिविरबाट ४२२ जना भक्तजन प्रत्यक्ष लाभान्वित भएको कम्पनीले जनाएको छ । शिविरमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र २ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।

कम्पनीले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

नेपाल लाइफ इन्स्योरेन्सको २०८० असार मसान्तसम्ममा लगानी १७२ अर्ब रुपैयाँ छ भने जीवन बीमा कोषमा करिब १६३ अर्ब रुपैयाँ सञ्चि छ । कम्पनीले देशभरका १९२ कार्यालयबाट जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको छ ।


क्लिकमान्डु