‘सिंहदरबार जलाउने’ बालेनको धम्की देखेर लज्जित छु



तिमी यस्तो होउला भन्ने लागेको थिएन बालेन। आज मलाई मेरा ती हजारौं शब्दहरुको याद आइरहेका छन्। जुन मैले तिम्रो प्रशंसा र प्रतिरक्षामा खर्च गरेको थिएँ। त्यही भएर यो लेख लेख्न बाध्य भएको छु। ती शब्दहरुलाई कसरी सार्थक थिए भनेर म भन्न सक्छु र ? जब तिम्रा अहमताले व्याप्त शब्दहरु मिडियामार्फत् पढ्छु। तब म मेरा ती लेखहरूलाई खेर भएका शब्दहरु नभनेर के भनौं ? प्रहरीको एकछिनको चेकिङबाट मर्माहत तुल्य भएर, आहतको झोकमा सिंहदरबारमा आगो झोस्न उक्साउने तिम्रा बचन के पाच्य थियो ? पोहोर जसरी तिमीले राजसी दर्पण आउने गरी इन्द्रजात्रा चलायौ।

तर, तिमीलाई थाहै होला २०३० सालमै तिमीले जलाउँछु भनेको सिंहदरबार आगलागी भएको थियो । जुन राजसी ठाँटको तिमीले पोहोर नक्कल गरेका थियौ, त्यही ठाँटको विरासत बोकेका राजाको सुझबुझले अहिलेको अवस्थाको बाँकी भाग बचेको थियो। जुन तिमी आज जलाउँछु भन्दै हिँड्छौं । बालेन तिमीलाई थाहा छ, तिम्रो कार्यालयबाट केही सय मिटर पर तिम्रो माहानगरको केन्द्रमा रहेको सरकारी अस्पतालको माथिल्लो तलाबाट एक जनाले हाम फालेर ज्यान लियो। के तिमीले बुझ्न भ्याएका छौं ? हुन त यो‌ तिम्रो कार्यक्षेत्रमा नपर्ला तथापि तिनले के कारण आत्महत्या गरे ? तिनको गोजीमा ५ रुपैयाँ भेटियो । हो बालेन हो ५ रुपैयाँ। उनी के कारण आहत गएका रहेछन् तिमीले बुझ्यौ। तिम्रो आहतको अगाडी उनको पिडा ठूलो कि तिम्रो स्टाटस लेखन बालेन ? उबेला एक राजा थिए जो हरेक घरमा आगोको धुँवा आएको देखेपछि मात्र आफू खाना खान्थे रे। यस्ता आहान अहिलेका बच्चाहरुलाई सुनायो भने उनीहरु हाँस्छन् । किन थाहा छ ? कारण विगत र वर्तमानका नेताहरुको यस्तै सोचका कारण नै हो भन्दा अब अन्यथा हुन्न। ए बालेन बालेन्द्र तिम्रो माहानगरभित्रको ५ नम्बर वडा कार्यालय रहेको भवनबाट जम्माजम्मी ३/४ सय मिटरको दुरीमा रहेको देशकै एकमात्र ठूलो बाल अस्पतालमा हिँजो एक जाना बच्चीले डाक्टर कुर्दा कुर्दै ज्यान गुमाउनु पर्यो । बालेन उनका परिवारले कहाँ झोस्न जाउन आगो। तिमीले अस्पतालमा निःशुल्क उपचार गराउनु पर्ने विगतको व्यवस्थालाई पालना गर्न ओठे उर्दी त दियौं । तर, पालन भए नभएको बुझेका छौं । तिमीले नै तिम्रो र्यापको बीचमा गाउँछौं होइन र ? गरिबको चमेली बोल्दिने कोही छैन कोही छैन। हो थाहा छ, उक्त घटना तिम्रा अधिकार क्षेत्रभित्र सिधारुपमा पर्दैनन् । तर तिमीले तिम्रो आवाज दिन सक्छौं, यस्ता घटनाहरू विरुद्ध होइन र ? खोइ के आशा गर्नु, प्रहरीले डिउटी पालन गर्दा तिमी मर्माहत भयौँ । यो आहत थियो कि अहम। बालेन यसलाई म अहम नै भन्छु । जुन तिमीमा केही समय यता देखी अरु प्रसंगहरुमा नदेखिएको होइन।

बालेन तिम्रो लक्ष्य बाँकी ४ वर्षमात्र, काठमाडौंको मेयर हुने हो भने ठिकै छ । अन्यथा सुधार आफूलाई। आफैंले समाजमा बालेको आक्रोसको आगो निभाउन सरकारले सय रोपनी जग्गा उपलब्ध गराए क्रिकेट रङ्गशाला आफै बनाउँछ भनेर कुटिल राजनिति गर्ने प्रयास नगर। फेरि पनि गल्ती गर्दैछौं यस्ता बिकाउ अभिव्यक्ति दिएर ।

तिमीलाई तिम्रो महानगरमित्र सरकारले कहाँबाट दियोस् १०० रोपनी जग्गा। साखुल्य हुने प्रयास नगर बालेन। ए साँच्ची तिमी मर्माहत भएर लेखिएको स्टाटस छोप्न यसो भन्दैछौं क्यारे । बालेन यो देशमा मर्माहत हुने अवस्थाहरुको आधारमाभन्दा तिम्रो त्यो अवस्था निकै पुछारको अवस्था हो। जसको गणना गर्नु आवश्यक छैन । यस्ता घटना यहाँ कुनै न कुनै रूपमा दैनिक हुन्छन् । कि तिमीले तिमीलाई कानून, नियम, आचरणमाथि राख्नु पर्छ भन्न खोजेका हौं।

बालेन तिमीलाई मैले मेरो पछिल्लो लेखमार्फत् भनेको थिएँ । ‘पुमवंगु ज्ञां बिया छ, याये त्यनागु’ तिमीले बिध्यार्थीहरुलाई थप एक बिषय कर्मकाण्डी रुपमा थुपारेको प्रति मेरो विमती हिजो पनि थियो आज पनि छँदैछ । तर, बालेन तिम्रो स्टाटस पछि यो भन्छु कि- बालेन छंगू ज्ञां भचा पुमवंगु थें च्वन, जनता तयेगु न्ही न्ही यागु ज्याख्यःसं छक स्यंः वनेमाल, छंथे नुगःलय् स्यागु थन सकल नेपाःमि पिन्सं: न्ही न्ही धै थें भोगय् याना च्वंगु दु । आ छक धै दिसं इमिसं गन वना मी च्याकः वनेगु । (बालेन तिम्रो ज्ञान अपुरो भयो जनताको दिनचर्याबाट सिक्न जाउ, तिमी जसरी आहत यहाँ हजारौं मानिस दैनिक आहत हुन्छन् । अब भन उनीहरु कहाँ आगो लगाउन जाउन् ।)

बालेन तिमी हाम्रो शहर घुमेका छौं ? तिमीलाई थाह छ चक्रपथ भित्रका बाटाहरू कस्ता छन् । हरेक दिन अस्पतालमा निमेषभर पुग्नु पर्ने एम्बुलेन्सहरू घण्टौं त्यही बाटाहरूमा कराइ रहेका हुन्छन् । ७ मिनेट होइन बालेन घण्टौं । एम्बुलेन्सभित्रका आफन्तहरु तिमीले जस्तो अहम् कहाँ देखाउने ? अहम् यस कारण कि त्यस दिनको स्टाटस आक्रोश थिएन अहम् थियो। कि उनीहरु, आउन् मशाल लिएर तिम्रो कार्यालय। हामीले खोजेको नगरप्रमुख शालीन, भद्र, दयालु, चतुर सौम्य, बिचारक, कर्मठ, शिष्ट, कर्मनिष्ठ र सभ्य हो। आगो झोस्नेहरू, टायर बाल्नेहरुलाई बिर्साएर त तिमीलाई ल्याएका हौं । तिम्रो त्यो स्टाटस देखेर म लज्जित भएँ प्रिय मेयर।


क्लिकमान्डु