वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली



पर्सा । वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जीआइएस बेस्ड हाउस नम्बरिङ)को सुरु गरेको छ ।

बढ्दो सहरीकरणसँगै घर संख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको थालनी गरेको हो । नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्‍याउने महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

महानगरको आरयुडिपी प्रोजेक्टअन्तर्गत एडिबीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो । गणकले आवश्यक तथ्यांक संकलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नं १० आदर्शनगरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगर प्रमुख सिंहले नम्बर प्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली सुरुवात गरे ।

आदर्शनगर चोकबाट ठाकुरराम क्याम्पससम्मको सडकलाई पशुपति घोषमार्ग नामकरण गरी दुई सय ३० नम्बरको नम्बर प्लेट टाँस गरिएको छ । सडकको चोक तथा मिलनविन्दु (दोबाटो र चौबाटो)देखि कुनै निश्चित घरको दूरी (लम्बाइ)का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो ।

उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोही आधारमा घर–घरमा नम्बर प्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए ।

पहिलो चरणमा महानगरको वडा नं १ देखि १६ सम्म जीआइएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्भे गरी सबै सडकको नामकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जीआइएस विज्ञ उमेश कुँवरले बताए ।

आवश्यक डाटाबेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रणालीका आधारमा नम्बरिङ गरिने पनि उनले जानकारी दिए ।

पशुपति घोषमार्गमा आजै ५५ घरमा नम्बरिङ गरिएको छ । १६ वटै वडाको करिब ३३ हजारभन्दा बढी घरमा नम्बरिङ गर्ने गरी तयारी भएको र पहिलो चरणमा कम्तीमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बर प्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यको भनाइ छ । यो प्रणालीमा सडक–गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो–कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने जीआइएस टेक्निसियनसमेत रहेका सबइन्जिनियर अर्चन आचार्यले बताए ।


क्लिकमान्डु