चौतर्फी आलोचनापछि बालेनले डिलिट गरे फेसबुक स्टाटस



काठमाडौं । चौतर्फी आलोचनापछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले विवादित स्टाटस डिलिट गरेका छन् ।

श्रीमती चढेको गाडी रोकेर ट्राफिक प्रहरी जाँच गरेको विषयलाई लिएर आक्रोशित बनेका बालेनले शनिबार राति ‘सिहंदरबारमा आगो लगाइदिने’ चेतावनी दिँदै लेखेको स्टाटस डिलिट गरेका हुन् ।

बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकिएमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए ।

उनले लेखेका थिए ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

बालेनको स्टाटसमा मिश्रित प्रतिक्रिया आएका थिए भने सञ्चारमाध्यमले पनि अनुमानका भरमा समाचारहरु पस्किएका थिए । कसैले श्रीमती तीजको दर खान गएका बेला गाडी रोकेका कारण बालेन आक्रोशित भएको भनेर लेखेका थिए ।

कतिपयले श्रीमती सविनालाई सुत्केरी ब्यथा लागेर स्वास्थ्यमा समस्या देखिएका कारण हतारमा हुइँकिएको महानगरको गाडीलाई रोकेका कारण बालेन रिसाएको भनेर समाचार लेखे ।

व्यापक आलोचना र विभिन्न अनुमानका बीच आइतबार साँझ बालेनको स्वकीय सचिवालयले प्रहरीले सविना चढेको गाडीमाथि गलत व्यवहार गरेको भन्दै विज्ञप्ति निकालेको थियो ।


रवि धिताल