बालेन्द्र शाहको प्रस्टीकरण- प्रहरीको व्यवहार असभ्य र निन्दनीय थियो



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को स्वकीय सचिवालयले प्रसव पीडा र शारीरिक समस्यामा रहेकी मेयरपत्नी सविना काफ्लेमाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दनीय भएको बताएको छ ।

हिजो राति बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि आएका नकारात्मक प्रतिक्रियापछि बालेनको सचिवालयले प्रस्टीकरण दिएको हो ।

सचिवालयले सुत्केरी अवस्थामा रहेकी सविनामाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ । त्यसपछि तत्काल उनले दिएको उत्तेजक अभिव्यक्तिको सार्वजनिक रुपमा तीव्र आलोचना भइरहेको छ ।

बालेनको सचिवालयका अनुसार बालेन दम्पतीका शिशु (मेडिसिटी अस्पताल) एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् ।

आफ्नो स्वास्थ्य परीक्षण गर्नुका साथै शिशुलाई स्तनपान गराएर घर फर्किंदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेर अनावश्यक केरकार गरेको थियो । त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको बालेनको स्वकीय सचिवालयले जनाएको छ ।

‘नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो, प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नगरी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गर्‍यो’ विज्ञप्तिमा भनिएको छ ।


रवि धिताल