सुयस प्याकुरेलको एमएम पोलिमर्सले एकैवर्ष गर्‍यो १ अर्ब २७ करोडको व्यापार



काठमाडौं । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयस प्याकुरेलको कम्पनीले एकैवर्ष १ अर्ब २७ करोडको व्यापार गरेको छ । प्याकुरेल अध्यक्ष रहेको एमएम पोलिमर्सले सन् २०२२ मा १ अर्ब २७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले सन् २०२३ को ६ महिनामा ५२ करोड १० लाखको व्यापार गरेको क्रेडिट रेटिङ एजेन्सी इक्राले जनाएको छ । कम्पनीको व्यापार विगत वर्षहरुको तुलनामा सन् २०२२ मा उल्लेख्य बढेको हो ।

सन् २०२१ मा कम्पनीले ८७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै सन् २०२० मा ६६ करोड ६० लाख र १९ मा ८७ करोड ८० लाखको व्यापार गरेको थियो ।

एमएम पोलिमर्सको कार्यालय मकवानपुरको हेटौंडामा छ । यो कम्पनी एमएम ग्रुप अफ कम्पनीमा आबद्ध छ, जसले प्लास्टिकका सामानहरु उत्पादन गर्छ । सन् २००९ देखि व्यापार सुरु गरेको कम्पनीले पोलिथिलिन थेरेफेयालेटको प्रयोग गरेर बोतल र जारहरु तथा एचडीपीई क्याप र कन्टेनरहरु उत्पादन गर्दै आएको छ । कम्पनीमा सुयससहित स्वागतराज, सन्तोष र ज्योतिको २५-२५ प्रतिशत सेयर हिस्सा छ ।

कम्पनीले १ अर्ब ४९ करोडको कर्जाको रेटिङ गराएको छ । जसमा दीर्घकालीन फन्ड बेस्ड कर्जा सुविधामा ६४ करोड ५० लाख तथा अल्पकालीन फन्ड बेस्ड कर्जा सुविधामा ५ करोड र अल्पकालीन नन-फन्ड बेस्ड सुविधामा ७९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाको लागि एल डबल बी तथा अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ पाएको छ । बढ्दै गएको एफएमसीजी व्यवसायका कारण प्लास्टिकजन्य उत्पादनको पनि प्रयोग र माग बढ्नुले कम्पनीको व्यापारमा थप वृद्धि हुनसक्ने पनि इक्राले जनाएको छ ।


क्लिकमान्डु