एमाले आफैं समाप्त भएर जान्छः माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् ।
अध्यक्ष नेपालले नेकपा (एस) लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाईरहेको जिकिर गरे ।
पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरुलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको बताए । उनले पार्टीलाई सशक्त बनाउन आफूहरुले संगठन निर्माणको कामलाई तिब्रता दिएको समेत बताए ।
उनले भने ‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन ती व्यक्तिहरु जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरु आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन् । तपाईहरु देखिरहनुभएको छ- सिंगै देशमा हाम्रो पार्टी आफ्नै गतिविधिका साथ अगाडि बढिरहेको छ । संगठन निर्माणको अभियानमा जुटेको छ । र, अरुलाई पनि साथी र सहयोगी बनाउँदै, हातेमालो गर्दै समाजवादी मोर्चा बनाउँदै सारा देशमा समाजवादको झण्डा बुलन्द गर्दै अगाडि बढिरहेको छ । अरुले कल्पना नगरेका कुराहरु, परिकल्पना नगरेका कुराहरु, पार लाग्दैन भन्नेहरु, ती सबैका कुरालाई चुनौति दिँदै असम्भव ठानिएका कामलाई सम्भव तुल्याएका छौं ।’