ठूला निर्माण व्यवसायीको बेहालः व्यापार घट्यो, ऋण बढ्यो



काठमाडौं । सरकारले पुँजीगत खर्च गर्न नसक्दा ठूला निर्माण व्यवसायीको अवस्था बिग्रिएको छ । व्यापारमा कमी आउँदा पनि बैंकबाट लिने ऋण भने बढेको छ ।

गत आर्थिक वर्ष समग्र क्षेत्रमा बैंकहरुको कूल कर्जा ३.८ प्रतिशतले बढेको छ । तर, निर्माण क्षेत्रमा भने ६.७ प्रतिशतले कर्जा बढेको छ ।

ठूला निर्माण कम्पनीहरुले आफ्नो सञ्चालन खर्च चलाउनकै लागि बैंकबाट कर्जा लिनुपर्ने बाध्यता भएका कारण व्यापार घटे पनि ऋण भने बढेको जनाएका छन् । तर, केही साना निर्माण कम्पनीहरुको व्यापारमा केही वृद्धि देखिएको छ ।

एकातिर काम गरेकै मोटो रकम सरकारले भुक्तानी गर्न बाँकी छ भने अर्कातिर धेरै प्रोजेक्टहरु निर्माणाधीन अवस्थामा छन् ।

कर्जा प्रवाहमा निरन्तर वृद्धि, ठूला निर्माण क्षेत्रमा उच्च

आर्थिक वर्ष २०२१ मा निर्माण क्षेत्रमा उच्च कर्जा प्रवाह भएको थियो । २०२२ मा घटे पनि २०२३ मा भने बढेको छ ।

आर्थिक वर्ष २०२१ मा ४ खर्ब ११ अर्ब ३२ करोड ८५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुले निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेका थिए । २०२२ मा भने यसमा ५३.८ प्रतिशतको कमी आई १ खर्ब ९० अर्ब १९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

२०२२ को तुलनामा २०२३ मा १२ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ धेरै कर्जा प्रवाह भएको छ । त्यसअघिका वर्षहरुमा हेर्ने हो भने पनि कर्जा प्रवहमा बढेको देखिन्छ । २०१९ मा ३ खर्ब ९ अर्ब ४१ करोड ७५ र २०२१ मा ३ खर्ब ४७ अर्ब ४१ करोड ९८ लाखको कर्जा प्रवाह भएको थियो ।

निर्माण क्षेत्रअन्तर्गत पनि सबैभन्दा धेरै कर्जा प्रवाह गैरआवासिय निर्माण र ठूला निर्माणको क्षेत्रमा भएको छ । आवासिय निर्माणको क्षेत्रमा भने अन्यको तुलनामा केही कम कर्जा प्रवाह वृद्धि भएको छ ।

निर्माणअन्तर्गत आवासिय क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि अन्य क्षेत्रको तुलनामा कम भए पनि रकममा भने धेरै रहेको छ । २०१९ मा २ खर्ब ५१ अर्ब ५९ करोड ३२ लाख रहेको यो क्षेत्रको कर्जा २०२० मा २ खर्ब ७६ अर्ब ८५ करोडको रहेको थियो । २०२१ मा यसमा अघिल्लो वर्षको तुलनामा १४.३ प्रतिशतले बृद्धि भएर ३ खर्ब १६ अर्ब ४६ करोड कर्जा प्रवाह भएको थियो ।

आवासिय क्षेत्रमा २०२१ पछि भने कर्जा प्रवाहमा उच्च गिरावट आएको छ । २०२२ मा यसमा ७२ प्रतिशतले गिरावट आएको थियो । ८८ अर्ब ६४ करोड ९२ लाख रुपैयाँ निर्माणअन्तर्गत आवासिय क्षेत्रको निर्माणका लागि कर्जा प्रवाह भएको थियो । त्यस्तै, २०२३ मा पनि ६.५ प्रतिशतले गिरावट आई ८२ अर्ब ९३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

गैरआवासिय क्षेत्रमा भएको कर्जा प्रवाहमा २०१९ को तुलनामा २०२० मा ४.८ प्रतिशको वृद्धि देखिएको थियो । त्यस्तै, २०२० र २०२१ बीचको तुलनामा ४७ प्रतिशतको वृद्धि देखिएको थियो । २०२१ मा गैरआवासिय क्षेत्रअन्तर्गतको निर्माणमा कुल २५ अर्ब ७ करोड ६२ लाख रुपैयाँको कर्जा प्रवाह भएको थियो । २०२२ मा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले बढेको थियो । २०२२ मा २५ अर्ब ६९ करोड ८ लाख कर्जा प्रवाह यो क्षेत्रमा भएको थियो । २०२३ मा भने अघिल्लो वर्षबाट ७.६ प्रतिशतले वृद्धि हुँदै कर्जा प्रवाह २७ अर्ब ६३ करोड ९२ हजार रुपैयाँ पुगेको छ ।

ठूला निर्माण कम्पनी संलग्न हुने निर्माणमा कस्तो छ कर्जा प्रवाह ?

खासगरी, निर्माण क्षेत्रअन्तर्गत ठूला निर्माण कम्पनीहरु सडक, पुल, सिचाईंजस्ता ठूला परियोजनाहरुको निर्माण (ह्याभी कन्स्ट्रक्सन)मा संलग्न हुन्छन् । निर्माण क्षेत्रअन्तर्गतको ठूला निर्माणको काममा हुने कर्जा प्रवाह भने निरन्तर वृद्धि भएको छ ।

विगत ५ वर्षको राष्ट्र बैंकको तथ्यांकअनुसार कुनै पनि वर्ष यो क्षेत्रमा हुने कर्जा प्रवाहमा कमी आएको छैन । तर, पहिलेको तुलनामा हाल केही कमी भने आएको तथ्यांकले देखाउँछ ।

२०१९ मा ठूला निर्माणमा कर्जा प्रवाह ४१ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ भएको थियो । यसमा २८.८ प्रतिशतले वृद्धि हुँदै २०२० मा कर्जा प्रवाह ५३ अर्ब ५० करोड ६१ लाख पुगेको थियो । २०२१ मा पनि अघिल्लो वर्षको तुलनामा ३०.४ प्रतिशतले वृद्धि हुँदै कर्जा प्रवाह ६९ अर्ब ७८ करोड ५५ लाख पुगेको थियो ।

२०२२ मा भने ठूला निर्माणका लागि लिइने कर्जामा केही कमी आएको थियो । २०२२ मा अघिल्लो वर्षको तुलनामा ८.७ प्रतिशतको मात्रै वृद्धि देखिएको थियो । २०२२ मा निर्माण कम्पनीहरुले ७५ अर्ब ८५ करोड ६० लाख रुपैयाँ कर्जा लिएका थिए ।

२०२३ मा यसमा पुनः बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा २१.८ प्रतिशतको वृद्धि भएर ९२ अर्ब ३९ करोड ३० लाखको कर्जा प्रवाह २०२३ मा भएको छ ।

कस्तो छ ब्यापार ?

नेपालकै ठूलो निर्माण कम्पनीमध्येको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले पनि १३ अर्ब ५० करोड रुपैयाँको कर्जा लिनका लागि सोही रेटिङ एजेन्सीमार्फत् रेटिङ गराएको छ । कम्पनीको व्यापारमा २०२० देखि २०२२ सम्म ४५ प्रतिशतको वार्षिक वृद्धि भएको भएतापनि २०२२ मा भने यसको व्यापारमा १२ प्रतिशतको गिरावट आएको थियो । यो कम्पनीले २०२२ मा २ अर्ब ७० करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

ए क्लासको निर्माण कम्पनी एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रा.लिको व्यापारमा पनि विगतको तुलनामा २०२२ मा उच्च गिरावट देखिएको छ । कम्पनीको व्यापार २०२० मा ८४ करोड ४० लाख थियो । २०२१ मा पनि यसमा केही वृद्धि भएर ८५ करोड ८० लाख रुपैयाँको व्यापार कम्पनीले गरेको थियो । २०२२ मा भने कम्पनीको व्यापारमा उच्च गिरावट आएको छ । २०२२ मा कम्पनीले ६७ करोड ३० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

अर्को, नेपालकै दोस्रो ठूलो निर्माण कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिको व्यापारमा कमि आएको छ । कम्पनीको व्यापमारमा आर्थिक वर्ष २०२१ यता निरन्तर कमी आइरहेको वार्षिक अडिट रिपोर्टले देखाउँछ । २०२१ मा कम्पनीले ३ अर्ब १३ करोड ८८ लाख रुपैयााको व्यापार गरेको थियो । त्यसपछि २०२२ मा कम्पनीको व्यापार ३ अर्ब १२ करोड ६९ लाख रुपैयाँको थियो ।

२०२३ मा भने कम्पनीले २ अर्ब ८४ करोड २७ लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । २०१९ पछिको पहिलो वर्ष गिरावट भएको कम्पनीको व्यापार पुनः गतिशिल हुँदै गर्दा २०२३ मा भने गिरावट देखिएको हो । २०१९ मा कम्पनीको व्यापार ३ अर्ब २४ करोड ७४ लाख रुपैयाँको थियो भने २०२० मा यसमा गिरावट आएर २ अर्ब ४३ करोड ६१ लाखको व्यापार भएको थियो ।

यो कम्पनीसँग २०२३ मा व्यापारमा गिरावट भएर २ अर्ब ८४ करोड रुपैयाँको मात्रै व्यापार गरेको कम्पनीसँग हाल १८ अर्ब बराबरको ठेक्का रहेको छ, जुन पुरा हुन बाँकी छ । हाल भने कम्पनीले १३ अर्ब ९३ करोड ८२ लाख रुपैयाँको ऋणका लागि रेटिंग लिएको छ

ठूला निर्माण कम्पनीको व्यापारमा कमि आइरहँदासाना निर्माण कम्पनीहरुको व्यापारमा भने वृद्धि पनि भएको छ । निर्माण कम्पनी ओम साई राम कन्स्ट्रक्सन प्रा.लिले ३ अर्ब ५४ करोड रुपैयाँको कर्जाको रेटिङ गराएको छ । सानो रकममा व्यापार गर्ने गरेको कम्पनीको व्यापारमा भने वृद्धि देखिएको छ । २०२० मा ३३ अर्ब ९० करोडको व्यापार गरेको कम्पनीले २०२१ मा ५१ अर्ब ३० करोडको व्यापार गरेको थियो । २०२२ मा कम्पनीले ५६ करोड ८० लाख को व्यापार गरेको छ । यो बाहेक अन्य पनि निर्माण कम्पनीहरुको व्यापारमा केही बृद्धि भने देखिएको छ । तर, अनुपातमा भने उच्च बृद्धि देखिएको छैन ।

निर्माण कम्पनीहरुको व्यापारमा कमि आउनुमा विभिन्न कारणहरु देखिएका छन् । सरकारी पुँजीगत खर्चमा सुस्तताका कारण, भुक्तानीको समस्याजस्ता कारणहरुले पनि निर्माण क्षेत्रका कम्पनीहरुको व्यापारमा कमि आएको छ । पछिल्लो समय निर्माण कम्पनीहरुले भुक्तानीका लागि आन्दोलन समेत गरिरहेका छन् ।

निर्माण कम्पनीहरुले कर्जाका लागि गराएको रेटिङमा उल्लेख भएअनुसार निर्माण कम्पनीहरुले आफ्नो नियमित सञ्चालनका दायित्वहरु पुरा गर्नका लागि पनि समयमा नै सरकारी भुक्तानी नहुँदा बैंकबाट कर्जा लिनुपर्ने अवस्था सिर्जना भएको छ ।


युवराज भट्टराई