विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी प्रकरण: माओवादी उपाध्यक्ष महराका छोरा राहुल पक्राउ



काठमाडौं । विद्युतीय चुरोट(भेप)मा सुन लुकाएर तस्करी गरेको प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको छोरा राहुल पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिइएको पुष्टि गरिन् ।

राहुलले बुधबार अपराह्न फेसबुकमा स्टाटस राख्दै सीआईबीमा उपस्थित भएर अनुसन्धानमा सहजीकरण गर्ने उल्लेख गरेका थिए ।

आफूहरुमाथि हिलो छ्याप्ने कोसिस गरेकोले स्वयं सीआईबीमा उपस्थित हुने जनाएका थिए । ‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु,’ महराले लेखेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप)मा सुन तस्करी गरेको प्रकरणमा महरा बाबुछोराको चिनियाँ व्यवसायीसँग पटकपटक सम्पर्क भएको प्रहरी अनुसन्धानमा देखिएको थियो । भेपभित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी नेतालाई जोगाउन खोजेको भन्दै आलोचना भइरहेको थियो ।


क्लिकमान्डु