व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न साम्पाङलाई अदालतको अन्तरिम आदेश



विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षरोपण गरेका थिए । तर साम्पाङले आफूहरुको जग्गामा वृक्षारोपण गरेको र आफूहरुमाथि धरपकड गरेकोभन्दै रोशन अधिकारी र रोजिना अधिकारीले रिट दायर गरेका थिए ।

मेयर साम्पाङ सोमबार पुन: सोही जग्गामा पुगेका थिए । उनी गएपछि अधिकारी दम्पतीले त्यसको प्रतिवाद गरेका थिए । दुई पक्षबीच विवादपछि मेयर साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए ।

उजुरी परेपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर पुगेका हुन् । उनीहरुको रिटमा आदेश गर्दै अदालतले जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीको नाममा कानुन बमोजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदकको जग्गामा प्रवेश नगर्न आदेश दिएको हो ।


क्लिकमान्डु