विहानदेखि आतंक मच्चाएको भैंसी नियन्त्रणमा लिइयो, १ जना घाइेते
काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा आतंक मच्चाएको भैंसी नियन्त्रणमा आएको छ । बुधबार बिहान ६ बजे बुद्धनगर क्षेत्रको सडकमा आएर आतंक मच्चाएको भैंसी पाँच घन्टापछि नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको बताएको छ ।
भैंसीलाई नियन्त्रणमा लिन वन कार्यालय स्युचाटारबाट टोली बोलाइएको थियो । टोलीले भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिएको हो ।
भैंसी बुद्धनगर, ढुंगेधारा हुँदै शंखमुल पुगेपछि ज्ञान निकेतन स्कुलको कम्पाउन्डमा प्रवेश गरेको थियो । भैंसी कम्पाउण्डभित्र प्रवेश गरेपछि छेकबार गरेर राखिएको थियो ।
भैंसी नियन्त्रणमा लिन प्रहरी वृत्त बानेश्वरको टोली खटिएका थियो। प्रहरीले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको थियो । सुरक्षा निकायले नसकेपछि वन कार्यालयलाई खबर गरिएको थियो ।
प्रहरीले काट्न आटिएको भैंसी भागेको हुन सक्ने अनुमान गरेको छ । भैंसीको एउटा सिङ भाँचिएको छ । भैंसीको आक्रमणबाट ढुंगेधारमा एक महिला घाइते भएकी छन् भने २ वटा कारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
भैंसी कहाँबाट सडकमा आयो भन्नेबारे जानकारी नभएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।