कडा निगरानीमा प्याज व्यापारी:  दुई दिनमा ३१ वटा फर्ममा पुग्यो वाणिज्य विभाग, १६ वटालाई जरिवाना



काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि व्यापारीले कालोबजारी गरेको गुनासो बाहिरिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएको छ । विभागले काठमाडौं उपत्यकामा २ दिनमा ३१ वटा तरकारी फर्ममा अनुगमन गरेको हो ।

सोमबार १४ वटा फर्ममा अनुगमन गरेको विभागले बढी मूल्य लिने ४ वटालाई जरिवाना तिराएको थियो । त्यस्तै मंगलबार विभागले प्याजका १७ वटा फर्ममा अनुगमन गरेकोमा मनपरी मूल्यवृद्धि गर्ने १२ वटालाई जरिवाना तिराएको छ ।

प्याजको मूल्य मनपरी बढाउने बल्खु, जोरपाटी, गोकर्णेश्वर, नरेफाँट, तीनकुने, आदर्श र भक्तपुरका १६ फर्मलाई १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको हो ।

वाणिज्य विभागले प्याजमा कालोबजारी नियन्त्रण गर्न सबै जिल्ला प्रशासन र काठमाडौं उपत्यकाका स्थानीय तहलाई पनि पत्राचार गरेको जनाएको छ । विभागको जनशक्ति मात्रै अपर्याप्त भएको भन्दै सबै जिल्ला प्रशासनलाई पत्राचार गरेर अनुमगन गर्न भनिएको हो ।

भारतले निर्यातमा कर लगाएको समाचार बाहिरिनेबित्तिकै यहीँ भएको प्याजको भाउ बढाउन थालिएको थियो । शनिबारसम्म प्रतिकिलो ६० रुपैयाँ खुद्रा मूल्यमा किनबेच भइरहेको प्याजको मूल्य सोमबारदेखि एक्कासि ८० रुपैयाँ पुर्‍याइएको थियो ।

भारतले शनिबारदेखि लागू हुनेगरी प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने घोषणा गरेको छ । नेपालमा मागको २० प्रतिशत प्याज मात्र आन्तरिक उत्पादनले धान्छ । बाँकी ८० प्रतिशत भारतबाटै आयात हुने गरेको छ ।

गत वर्ष भारतबाट नेपालले ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलोभन्दा बढी प्याज आयात गरेको थियो ।


क्लिकमान्डु