जीवन बिमा कम्पनीहरुको नाफामा ४४ प्रतिशतको वृद्धि



काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा जीवन बिमा कम्पनीहरुको नाफा ४४.४१ प्रतिशतले बढेर ४ अर्ब ४७ करोड ४६ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा जीवन बिमा कम्पनीको नाफा ३ अर्ब ९ करोड ८४ लाख १ हजार रुपैयाँ थियो ।

सञ्चालनमा रहेका १४ वटा बिमा कम्पनीमा ५ वटा कम्पनीको नाफा घटेको छ भने ७ वटा बिमा कम्पनी नाफामा गएका छन् । यस्तै अघिल्लो असार मसान्तमा नोक्सानमा रहेका दुई बिमा कम्पनी गत आवको असार मसान्तमा भने नाफामा गएका छन् ।

अघिल्लो आवमा नोक्सानमा रहेका र अहिले नाफा कमाउनेमा नेपाल लाइफ र एलआईसी नेपाल कम्पनी हुन् । नाफा घट्नेमा सूर्य ज्योति लाइफ, मेट लाइफ, नेसनल लाइफ, एसियन लाइफ र राष्ट्रिय बिमा संस्थान छन् ।

नाफा बढ्ने कम्पनीमा हिमालयन लाइफ, सन् नेपाल, प्रभु महालक्ष्मी, रिलायबल नेपाल, आइएमई प्रुडेन्सियल, सानिमा र सिटिजन लाईफ रहेका छन् ।

बिमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्थाअनुसार हिमालयन लाइफको नाफा ४२.५ प्रतिशतले बढेर ५८ करोड १३ लाख २४ हजार रुपैयाँ पुगेको छ । यस्तै सन् नेपाल लाइफको नाफा १६३.९९ प्रतिशतले बढेर ५६ करोड ६५ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

यस्तै प्रभु महालक्ष्मी लाइफको नाफा ४४.६६ प्रतिशतले बढेर १० करोड ५० लाख ८४ हजार, रिलायबल नेपालको नाफा ५७.२७ प्रतिशतले बढेर ४३ करोड २२ लाख ९९ हजार, आइएमई लाइफको नाफा ८७.१७ प्रतिशतले बढेर २४ करोड ८ लाख १३ हजार, सानिमा रिलायन्स लाइफको नाफा ३७.८८ प्रतिशतले बढेर २१ करोड ९३ लाख ८७ हजार रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशतले बढेर २० करोड ११ लाख २८ हजार पुगेको छ ।

बिमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार सूर्यज्योती लाइफको नाफा ३६.११ प्रतिशतले घटेर २९ करोड ४० लाख ९६ हजार, मेट लाइफको नाफा ३९.६५ प्रतिशतले घटेर ३५ करोड ९९ लाख ९३ हजार, नेसनल लाइइफको नाफा ५०.६८ प्रतिशतले घटेर ३६ करोड ४५ लाख ७४ हजार, एशियन लाइफको नाफा १७.६८ प्रतिशतले घटेर २४ करोड ६ हजार र राष्ट्रिय बिमा संस्थानको नाफा २.०७ प्रतिशतले घटेर ७ करोड २ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवमा नोक्सामा रहेको एलआईसी नेपालको नाफा १२ करोड ४६ लाख ७० हजार र नेपाल लाइफको ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ छ ।


क्लिकमान्डु