सीआईबीले बयान लिएपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले यसो भने



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफूमाथि उठेका प्रश्नहरुबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएको जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्री भट्टराईले ललिता निवास प्रकरणबारे सीआईबीका अधिकारीहरूलाई बयान दिएको बताएका हुन् ।

‘यो मुद्दा सफल टुङ्गोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानबिन्दु बनोस् भन्ने कामना गर्दछु’ भट्टराईले लेखेका छन् ।

सीआईबीले बालुवाटारमा रहेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको हो । पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईको मन्त्रिपरिषद्ले विभिन्न मितिमा ललिता निवास बारे निर्णय गरेको भए पनि प्रहरीले उनीहरुसँग बयान नलिइ जिल्ला सरकारी वकिलको कार्यालयलाई फाइल बुझाउने तयारी गरेपछि चर्को आलोचना भएको थियो । सर्वोच्च अदालतले निर्णयकर्ताहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्रीद्वयको बयान लिइएको हो ।


क्लिकमान्डु