बाढीले पुरेको कागवेनीमा खोतल्दा दुई बैंकको डेढ करोड बढी फेला



म्याग्दी । मुस्ताङको कागवेनीमा गेग्रानसहितको बाढीले परिएको दुई बैंकको डेढ करोड रुपैयाँभन्दा धेरै रकम फेला परेको छ ।

उद्धारकर्ताले स्काभेटरको सहायतामा गेग्रानमा उत्खनन गर्दा प्रभु बैंक कागवेनी शाखाको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कागवेनी शाखाको एक करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ नगद भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

बाढीले प्रभु बैंकको भवननै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको थियो । एक सातापछि आज फेला परेको रकम सुरक्षित नै रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए ।

साउन २८ गते साँझ कागखोलामा बाढी आउँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, ४ कागबेनी बस्ती पुरिएको थियो ।

‍उक्त बाढीले कागवेनीका २९ वटा घर, वडा कार्यालय, इलाका प्रहरी चौकी पूर्ण रुपमा क्षति भएको थियो ।


क्लिकमान्डु