मधेश प्रदेशमा १७ जनालाई रोजगारीको अवसर



काठमाडौं । मधेश प्रदेशमा प्रदेश निजामती सेवाअन्तर्गत रोजगारीको अवसर खुलेको छ । प्रदेशमा विभिन्न तह तथा पदमा १७ जनाका लागि रोजगारी खुलाइएको हो ।

मधेश प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रकाशित गरेको सूचनाकाअनुसार प्रदेश निजामती सेवाका लागि अधिकृत एघारौं र नवौं तह (प्राविधिक/अप्राविधिक) पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक लिखित परिक्षामार्फत पदपूर्ति गरिने गरि रोजगारीको अवसर खुलाइएको हो ।

प्रदेशले अघिकृत एघारौं तह प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट समूहका लागि एक जना माग गरिएको छ । खुला समूहबाट नै पदपूर्ति गरिने आयोगले जनाएको छ । त्यस्तै, नवौं तहमा अप्राविधिकतर्फ सामान्य प्रशासनमा खुला १ जना, मधेशी महिला १ जना र दलित महिला १ जना गरि ३ जनालाई रोजगारी खुलाइएको छ । त्यस्तै, सोही तहमा प्राविधिक तर्फ इन्जिनियरिङ्ग सेवाका लागि सिभिल समूहमा स्यानिटरी उपसमूहमा खुलातर्फ १ जना, इन्जिनियरिङ्गमै जियोलोजीअन्तर्गत हाइड्रो जियोलोजीमा खुलातर्फ १ जना र शिक्षाअन्तर्गत शिक्षा प्रशासनतर्फ १ जनाका लागि रोजगारी खुलाइएको छ ।

त्यस्तै, प्राविधिकमा स्वास्थ्य सेवातर्फ विभिन्न पदमा १० जनालाई रोजगारी खुलाइएको छ । जसमध्ये ८ समूहमा खुला र एक एक समूहमा मधेशी महिला र अन्तरसेवाअन्तर्गतबाट पदपूर्ति हुने आयोगले जनाएको छ ।

आयोगकाअनुसार लिखित, प्रयोगात्मक र अन्तर्वार्तामार्फत पदपूर्ति गरिनेछ । तोकिएको योग्यता पुरा गरेका इच्छुकले नियमित दस्तुरमा भदौं २७ गतेसम्म र दोब्बर दस्तुरमा असोज ३ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

त्यस्तै, प्रदेशको लोक सेवा आयोगले विभिन्न पदको बढुवाको पनि सूचना निकालेको छ । जसमा अघिकृत एघारौं तहअन्तर्गत प्राविधिकतर्फ स्वास्थ्य समूहमा प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट ३ जना, स्वास्थ्यअन्तर्गतको हेल्थ इन्सपेक्सनमा निर्देशक पदका लागि १ जना र स्वास्थ्यअन्तर्गत नै हेल्थ एजुकेसनमा निर्देशक पदका लागि १ जनाको बढुवा हुने विज्ञापनमा उल्लेख छ ।

यसबाहेक अधिकृत नवौं तहअन्तर्गत प्राविधिक/अप्राविधिक दुवैमा विवभिन्न १६ सेवा तथा पदहरुमा पनि बढुवा हुने आयोगले जनाएको छ । जसमा कुल ३२ जनाको बढुवा हुने आयोगले जनाएको छ ।


क्लिकमान्डु