राष्ट्र बैंकमा गभर्नरको भन्दा कर्मचारी युनियनको हस्तक्षेप दोब्बर



काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरुमाथि उच्च व्यवस्थापन (गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशक)ले भन्दा बढी कर्मचारी युनियनले हस्तक्षेप गर्ने गरेको पाइएको छ ।

राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले केही दिनअघि सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंकमा मानव संशाधन व्यवस्थापन अभ्यास सम्बन्धी अध्ययन प्रतिवेदन’काअनुसार राष्ट्र बैंकका कर्मचारीहरुमाथि उनीहरुभन्दा उच्च तहका कर्मचारीले गर्ने हस्तक्षेपको तुलनामा विभिन्न युनियनमा संलग्न रहेका कर्मचारीहरुले गर्ने हस्तक्षेप बढी रहेको हो ।

उक्त रिपोर्टकाअुनसार ४२.१ प्रतिशतले कर्मचारी युनियनले हस्तक्षेप गर्ने बताएका छन् । उच्च तहका कर्मचारीले हस्तक्षेप गर्नेमा भने २१.१ प्रतिशत कर्मचारीहरुले सहमति जनाएका छन् । उच्च तहका कर्मचारीको तुलनामा कर्मचारी युनियनले झण्डै हस्तक्षेप गर्ने कुरा झण्डै दोब्बर कर्मचारीहरुले बताएका छन् ।

उक्त रिपोर्ट तयार गर्नका लागि गरिएको अध्ययनका क्रममा ‘युनियनका कर्मचारीहरुले तपाईंहरुको विभागमा हस्तक्षेप गर्छन् कि गर्दैनन्’ भन्ने प्रश्न विभिन्न विभागलाई सोधिएको थियो । जसमा ४२.१ प्रतिशतले गर्नेमा सहमति जनाएका छन् भने ५७.९ प्रतिशतले नगर्ने बताएका छन् । त्यस्तै, ‘उच्च तहको व्यवस्थापनले विभागको कार्यमा हस्तक्षेप गर्ने वा नगर्ने’ प्रश्नमा २१.१ प्रतिशतले गर्ने र ७८.९ प्रतिशतले नगर्ने कर्मचारीहरुले जनाएका छन् ।

नेपाल राष्ट्र बैंकमा हाल १८ विभागहरु छन् । जसको नेतृत्व विशिष्ट अधिकृत अर्थात् कार्यकारी निर्देशकले गर्ने गर्छन् । कार्यकारी निर्देशक पद राष्ट्र बैंकको कर्मचारी तहमा सबैभन्दा उच्च तहको पद हो । त्यसभन्दा माथिल्लो तहमा दुई डेपुटी गभर्नर र गभर्नर हुन्छन्, जसको नियुक्ती मन्त्रिपरिषदले गर्छ ।

नेपाल राष्ट्र बैंकमा १०८२ जना कर्मचारी कार्यरत छन् । यो सर्वेक्षण ११५ जना कर्मचारीमा गरेर रिपोर्ट तयार पारिएको हो ।


क्लिकमान्डु