चालु पुँजी प्रकृतिको कर्जाको प्रयोग घट्दै

2.9k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएपछि उद्योगहरुले चालु पुँजी प्रकृतिको कर्जा प्रयोग घटाएका छन् ।

नेपाल उद्योग परिसंघले गरेको अध्ययनमा कुल वित्तीय स्रोतमा चालु पुँजी प्रकृतिको कर्जा प्रयोग गर्ने उद्योगहरु घटिरहेको पाइएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाशमा उद्योगहरुले प्रयोग गरेको कुल वित्तीय स्रोतको ४५.०६ प्रतिशत कर्जा चालु पुँजी प्रकृतिको थियो ।

राष्ट्र बैंकले कात्तिक १ गतेबाट चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयन गरे पनि गत वर्षको दोस्रो त्रैमाशमा कुल कर्जाको ४८.५४ प्रतिशत कर्जा चालु पुँजी प्रकृतिको थियो ।

तर, राष्ट्र बैंकले चालु पुँजी प्रकृतिको कर्जा दुरुपयोग गर्ने माथि कडाइ गर्नुको साथैं हाल लिएको चालु पुँजी प्रकृतिको कर्जा पुष्टी नहुने अवस्थामा आगामी २०८२ सालसम्म ५ किस्तामा उक्त रकम फिर्ता गर्नु पर्ने र १० वर्षसम्मको टर्म लोन बनाएर नियमित रुपमा सार्वा ब्याज तिर्नु पर्ने नियम कडाईका साथ कार्यान्वयन गरेपछि चालु पुँजी प्रकृतिको कर्जाको प्रयोग ह्वात्तै घटेको छ ।

परिसंघले गरेको अध्ययनमा हाल उद्योगहरुले प्रयोग गरेको वित्तीय स्रोतको ३७.१९ प्रतिशत कर्जा मात्रै चालु पुँजी प्रकृतिको छ ।
परिसंघका अनुसार चालु पुँजी प्रकृतिको कर्जाको औषत ब्याज ११.३८ प्रतिशतमा झरेको छ । जुन गत वर्षको दोस्रो त्रैशाममा १२.८८ प्रतिशत थियो ।

परिसंघका अनुसार उत्पादनमुलक उद्योगले प्रयोग गर्ने चालु पुँजी प्रकृतिको कर्जा बढेपनि सेवा क्षेत्रका उद्योगले प्रयोग गर्ने चालु पुँजी प्रकृतिको कर्जा घटेको हो ।

गत वर्ष पहिलो त्रैमाशमा उत्पादन मुलक उद्योगको चालु पुँजी प्रकृतिको कर्जा कुन वित्तीय स्रोतको ४८.८६ प्रतिशत रहेकोमा गत वर्षको तेस्रो त्रैमाशमा चालु पुँजी प्रकृतिको कर्जाको अंश ४९.४६ प्रतिशत पुगेको हो ।

तर सेवातर्फ गत वर्षको पहिलो त्रैमाशमा ३६.६८ प्रतिशत रहेको चालु पुँजी प्रकृतिको कर्जा तेस्रो त्रैशाममा घटेर २७.३७ प्रतिशत पुगेको छ ।

सेवा क्षेत्रले प्रयोग गर्ने चालु पुँजी प्रकृतिको कर्जा घट्दा समग्र चालु पुँजी प्रकृतिको कर्जामा गिरावट आएको हो ।