ऊर्जा क्षेत्रको विकासको लागि सरकारले रोड म्याप सहित कार्य योजना बनाउँदै छ: मन्त्री बस्नेत



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले विद्युत उत्पादक व्यवसायीहरु तथा सांसदहरुको समेत मागलाई व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्य योजना बनाएर अन्तिम चरणमा पुगेको बताए ।

मन्त्रालयले बनाएको ऊर्जा विकासको रोड म्याप र कार्य योजना कार्यसँगै विद्युत उत्पादन र खपतका समस्या सम्बोधन हुने उनको भनाइ छ ।

उनले विद्युत उत्पादकहरुले एउटा फाइल पास गर्नको लागि ७ वटा मन्त्रालय धाउनु पर्ने अवस्थामा समन्वय गरी काम गर्ने बताए ।

ऊर्जा मन्त्रालयले फाइल पठाउँदा वन र विद्युत विकास विभागले तयारी नपुगेको भन्दै फाइल केही समय होल्ड गर्न भन्ने जानकारी आफूलाई आएको बताए ।

मन्त्री बस्नेतले उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ रहेको भन्दै आगामी एक वर्षमा ४ हजार माथि पुग्ने बताए ।

मुलुकको अर्थतन्त्रको अवस्थाले विद्युत उत्पादनको क्षमता निर्धारण गर्ने हुँदा सरकारको प्रक्षेपन र उत्पादन क्षमता बढाउने भनेर मात्रै नहुने अवस्था रहेको उनको भनाइ थियो ।

मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)को वृद्धिलाई ७.२ मा स्थिर राख्न सकियो भने आगामी १० वर्षमा १२ हजार विद्युत उत्पादन गर्न सक्ने अवस्था रहेको मन्त्री बस्नेतको भनाइ छ । उनले अर्थतन्त्रलाई स्टेवल बनाउन सकिए विद्युतको आन्तरिक खपतको क्षमता पनि १२ हजार पुग्ने दाबी गरे ।
आन्तरिक खपत भन्दा बढी भएको विद्युतलाई व्यापार गर्नुको विकल्प नरहेको उनको भनाइ छ । मन्त्री बस्नेतले वर्तमान अवस्था,सम्भावना,आवश्यकताहरु र अहिले विकशित हुँदै गएको अवस्थाहरुलाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी रहेको उल्लेख गरे ।

उनले सरकारले २५ हजार विद्युत उत्पादन गर्ने गरी उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाइरहेको बताए । सरकारले अब लक्ष्य मात्रै नराख्ने भन्दै कुन–कुन आयोजनाबाट २५ हजार मेगावट विद्युत उत्पादन हुन्छ त्यस्ता आयोजनाहरुको लिष्ट तयार पर्ने उनले बताए ।

२५ हजार भार धान्न सक्ने पूर्वाधार,ट्रान्समिसन लाइन र सवस्टेशनहरुको निर्माण र विद्युत उत्पादनका लागि लगानीको वातावरण बनाउने काम गर्ने मन्त्री बस्नेतको भनाइ छ ।


क्लिकमान्डु