वित्तीय विवरणले जगाएन लगानीकर्तामा आशा, बजारमा पहिरो



काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । कारोबारको सुरु देखि नै देखिएको गिरावट अन्तिमसम्म पनि कायमै रह्यो ।

बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय अवस्था सार्वजनिक गरिरहेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय अवस्थालाई लगानीकर्ताले नरुचाउँदा बजारमा पहिरो गएको छ ।

वाणिज्य बैंंकहरुले असार मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेका छन् । बैंकको नाफा २४.९२ प्रतिशतले बढेको छ । २ वटा बैंकको लाभांश दिने क्षमता ऋणात्मक भएपनि ७ बैंकले १० प्रतिशत भन्दा बढी लाभांश दिन सक्छन् । तै पनि बजारमा भने गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ३८.३७ अंकले घटेर परिसूचक २०५१.४७ बिन्दुमा रोकिएको छ । २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूच राताम्मे बनेका छन् । कारोबारमा बैंकिङ समूहको उपसूचक २२.३४, विकास बैंक ९७.५१, वित्त ६२.२७, होटल २०१.३८, जलविद्युत ४४.४९, जीवन बिमा २३७.९६, उत्पादन तथा प्रशोधन ८४.०१, माइक्रोफाइनान्स ६१.८२, निर्जीबन बिमा २२२.६० अंकले घटेको छ ।

कारोबारमा आइएमई लाईफ इन्स्योरेन्स, नेपाल रिपब्लिक मिडियाको सकारात्मक सर्किट तहमा कारोबार भएको छ । कृषि विकास बैंक, पिपुल्स पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने प्रोग्रेसिभ फाइनान्स, अभियान लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, बेष्ट फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सानिमा बैंक अग्रस्थानमा छ । बैंकको १२ करोड ६९ लाख ८२ हजार ३०३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेको छ ।


रवि धिताल