लक्ष्मी सनराइज बैंकको नाफामा ४९ प्रतिशतको वृद्धि



काठमाडौं । हालै मर्ज भएर बनेको लक्ष्मी सनराइज बैंकले सुधारिएको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले गत आर्थिक वर्षभरमा २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४९.४५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यी दुवै बैंकको समग्र नाफा १ अर्ब ५१ करोड ३४ लाख रुपैयाा थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा बैंकको खुद नाफा बढेको हो । बैंकले गत वर्ष ५ अर्ब ५० करोड ७१ लाख ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्ष ३ अर्ब ७६ करोड ३ लाख रुपैयाँ गरेको थियो, जुन ४६ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, सञ्चालन नाफा २ अर्ब १५ करोड ४१ लाखबाट ५८ प्रतिशतले बढेर ३ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ छ भने लाभांश क्षमता ८.९४ प्रतिशत छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ठूलो मात्रामा बढेको छ । बैंकको खराब कर्जा अघिल्लो वर्ष ०.८९ प्रतिशत रहेकोमा गत वर्ष बढेर २.८१ प्रतिशत पुगेको हो । बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १९.४४ रुपैयाँ छ ।

लक्ष्मी बैंक र सनराइज बैंक असार २९ गते मर्ज भएर लक्ष्मी सनराइज बैंक बनेका हुन् । यी बैंकले त्यसअघि ३६२ दिन छुट्टाछुट्टै कारोबार गरेका थिए भने तीन दिन मात्र आर्थिक वर्षभरमा संयुक्त कारोबार गरेका हुन् ।


रवि धिताल