दोलखामा पहिरोमा १५ महिने बालकको मृत्यु, तीन बेपत्ता
दोलखा । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।
गौरीशंकर गाउँपालिकाको टोपाटारमा गए राति पहिरो गएको हो । रातिदेखि अविरल वर्षासँगै गएको पहिरोले वडा नम्बर ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।
पहिरोमा बेपत्ता हुनेमा गौरीशंकर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए ।
पहिरोमा परी तीन जना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।